बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा


काठमाडौं। राजधानीमा जारी विकास शिल्ड बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो दिन अन्तिम आठको प्रतिस्पर्धामा विजयी हासिल गर्दै कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश (क) र (ख)ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरे।

दिनको पहिलो खेलमा बागमती (ख)ले कर्णाली प्रदेशको चुनौती ३–१ ले पन्छायो। दोस्रो खेलमा बागमती (क)ले लुम्बिनी प्रदेशलाई पेनाल्टी सुटआउटमा ४–२ ले निराश पार्यो । यसअघि निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।

दिनको तेस्रो खेलमा मधेश प्रदेश र सुदूरपश्चिम आमने–सामने भएका थिए। सुदूरपश्चिमले मधेशविरुद्ध ४–० को रवाफिलो जित हासिल गर्यो। अन्तिम क्वार्टरफाइनल खेलमा कोशीले गण्डकीमाथि ६–२ को सानदार जित निकाल्यो।

सुन्दरढोका साथीसेवाले अपांगता खेलकुद प्रवद्र्धन गर्ने उद्धेश्यले संचालन गर्दै आएको विकास शिल्डअन्तर्गत यसपटक राष्ट्रियस्तरमै पहिलोपटक बहिरा फुटबल प्रतियोगिता आयोजना गरिएको हो।

बहिराहरुले पनि फुटबल खेल्न सकिन्छ भन्ने सन्देश दिन आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रामचरित्र मेहताको प्रमुख आतिथ्यतामा भएको थियो।

सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछन्। बिहान ९ बजे हुने पहिलो सेमिफाइनलमा बागमती (ख)ले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि १०ः३० बजे बागमती (क)ले कोशीसँग खेल्नेछ। फाइनल खेल दिउँसो ३ बजे हुने तालिका छ। यसबीच तेस्रो स्थानका लागि पनि प्रतिस्पर्धा हुनेछ।

समाजमा बहिरा व्यक्तिहरुलाई हेरिने दृष्टिकोणलाई परिवर्तन गर्न पनि यो प्रतियोगिता आयोजना गरिएको हो। बहिरा व्यक्तिहरुबीच मित्रताको भावना कायम गर्न पनि यो प्रतियोगिताले ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको