काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गर्दै आएको मिसन–२०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छिन्।
मिसन–२०२६ सम्बन्धी जानकारी दिन राखेपका सदस्य–सचिव रामचरित्र मेहताको नेतृत्वमा गएको टोलीसँगको भेटमा प्रधानमन्त्री कार्कीले कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता जनाइन्।
जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यका साथ राखेपले विगत दुई वर्षदेखि १० खेलका ११ टिमलाई विशेष प्रशिक्षण दिँदै आएको छ। तर चालु आर्थिक वर्षका लागि विनियोजित बजेटले माघ महिनासम्म मात्र कार्यक्रम सञ्चालन हुने अवस्था बनेपछि बाँकी अवधिका लागि बजेट व्यवस्थापन गर्न परिषद्ले सरकारसँग अनुरोध गरेको हो।
एसियाली खेलकुदको तयारीलगायत समग्र विषयमा सदस्य–सचिव मेहताले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। भेटमा राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट तथा उपनिर्देशक दिपक श्रेष्ठको समेत सहभागिता रहेको थियो।


