काठमाडौं। साबिक विजेता लालीगुराँस नेसनल एकेडेमी र श्री सत्य साइले दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन्। लालीगुराँस जुनियर ब्वाइज तथा सत्य साइ सिनियर गल्र्समा च्याम्पियन बने।
बूढानीलकण्ठको च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा भएको जुनियर ब्वाइजको फाइनलमा लालीगुराँसले जेबीलई २२–१७ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो। लालीगुराँसका लक्ष्मण बुढाले १३ स्कोर गरे। बसुन्धरा नेसनल एकेडेमी (बीएनए) तेश्रो भयो।
सिनियर गल्र्सको उपाधि भिडन्तमा सत्य साइले गत उपविजेता फेरिल्यान्डलाई १९–१५ ले हरायो। सत्य साइकी आकृति यादवले ८ अंक जोडिन्। भ्याली पब्लिक तेश्रो बन्यो।
जुनियर ब्वाइजमा लक्ष्मण र सिनियर गल्र्समा आकृति ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। जुनियर ब्वाइजमा बीएनएका सुप्रिम बस्नेत र गल्र्समा भ्याली पब्लिककी आकृति बम उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए। जुनियर ब्वाइजमा जेबीका गौरव ओली र सिनियर गल्र्समा फेरिल्यान्डकी रेनुका तामाङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बन। जुनियर ब्वाइजमा स्कोलर्स होम र नेचर तथा सिनियर गल्र्समा त्रिवेणी सदन अनुशासित टिम ठहरिए। जुनियर ब्वाइजमा बीएमसीए तथा सिनियर गल्र्समा बेलमोन्ट उदीयमान टिम घोषित भए।
विजेतालाई आयोजक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रमिला घलान, जेबीकी निर्देशक सुजु थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, जेबीका प्रिन्सिपल नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। छदिने प्रतियोगिताको जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी थिए।


