काठमाडौं। नेपाल ओकिनावा गोजु–र्यु कराते–डो संघको आयोजनामा पहिलो राष्ट्रिय कराते च्याम्पियनसिप–२०२६ काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। होटल आनन्दामा आयोजित प्रतियोगितामा विभिन्न उमेर तथा तौल समूहका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।
५० केजी तौल समूह बालिका कुमितेमा सुमिला पौडेल विजेता भइन्। आठ वर्षमुनि बालिका कुमितेमा सजिता खान, १० वर्षमुनि बालिका कुमितेमा रेसिका तामाङ, १२ वर्षमुनि बालिका कुमितेमा निरुता श्रेष्ठ तथा १४ वर्षमुनि बालिका कुमितेमा रितिशा पौडेलले आ–आफ्नो समूहमा स्वर्ण जिते।

बालकतर्फ १५ केजी तौल समूह कुमितेमा प्रकृत पोखरेल प्रथम भए। १० वर्षमुनि रोज श्रेष्ठ, ३५ केजी तौल समूहमा आशुतोष न्यौपाने, छ वर्षमुनि मनिष थापा, ११ वर्षमुनि आदित राई, १२ वर्षमुनि अविक न्यौपाने तथा १३ वर्षमुनि अशोक न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारे।
त्यस्तै, ४० केजी तौल समूहमा अजित श्रेष्ठ, ४५ केजीमा विजय मगराती, ५० केजीमा अरविन श्रेष्ठ, ५५ केजीमा अब्देश हजारी तथा ६० केजी तौल समूहमा कुण्डन लामिछाने प्रथम स्थान हासिल गर्न सफल भए।
टिमतर्फ समग्र अंकका आधारमा ग्रेसल्यान्ड डोजो प्रथम, भक्तपुर डोजो दोस्रो र झरना फिटनेस डोजो तेस्रो स्थानमा रहन सफल भए। विजेता टिम तथा खेलाडीहरूलाई प्रमाणपत्र, पदक र सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताले खेलाडीहरूमा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्नुका साथै कराते खेलको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ। आगामी दिनमा अझ व्यापक सहभागितासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
कार्यक्रममा नेपाल कराते महासङ्घका महासचिव दावा गुरुङको प्रमुख आतिथ्य रहेको थियो। उनले कराते खेलको विकास, युवापुस्ताको सक्रिय सहभागिता तथा खेलकुदमार्फत अनुशासन र स्वास्थ्य प्रवर्द्धनको आवश्यकताबारे जोड दिए।
यस्तै, विभिन्न क्षेत्रका खेलाडी, प्रशिक्षक, खेलप्रेमी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले कराते खेलको विस्तार र प्रतिभा पहिचानका लागि यस्ता प्रतियोगिता नियमित रूपमा आयोजना गर्नुपर्नेमा जोड दिएका थिए।


