काठमाडौं । नेसनल बास्केटबल लिग (एतजेएनबीएल) २०२६ अन्तर्गत आईतबार भएको पहिलो खेलमा रोएलले प्लेबक्स एरेनामाथि रोमाञ्चक जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा रोएलले प्लेबक्सलाई ७६–७३ ले परनजित गरेको हो। रोएलले पहिलो क्वाटरमा १६–१२ र दोस्रो क्वाटरमा १८–१४ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ३४–२६ को अग्रता बनाएको थियो। तेस्रो क्वाटरमा दुवैले २०–२० अंक जोडे। चौथो क्वाटरमा प्लेबक्सले उत्कृष्ट प्रदर्शन गर्दै २७–२२ ले आफ्नो पक्षमा पारेपनि पर्याप्त भएन।
रोएलका अनिल अर्मजा पुनले सर्वाधिक २१ अंक स्कोर गरे। उनी म्यान अफ दि म्याच घोषित भए। विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो हार बेहोरेको छ। सुरुवाती दुई खेल जितेर लयमा रहेको आर्मीलाई शनिबार राती सम्पन्न खेलमा टाइम्स इन्टरनेसनल कलेजले ८०–६८ ले पराजित गरेको छ।
आर्मीले पहिलो क्वाटरमा १५–१४ को झिनो अग्रता बनाएको थियो । दोस्रो क्वाटर टाइम्सले २३–१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ३७–२९ को अग्रता बनायो। त्यसपछि तेस्रो क्वाटरमा दुवै टिमले २१–२१ अंक स्कोर गरे। चौथो क्वाटरमा पनि लय कायम राख्दै टाइम्सले २२–१८ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो।
टाइम्सका लागि मनिस केसीले सर्वाधिक २२ अंक स्कोर गरे। उनी म्यान अफ दि म्याच घोषित भए।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।


