काठमाडौं। हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा लगातार छैटौँ जित हात पारेको छ।
त्रिपुरेश्वरस्थिथ राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार सम्पन्न खेलमा टाइम्सले कीर्तिपुरलाई ८२–६० ले पराजित गरेको हो। छैटौँ जितपछि टाईम्सले पनि शीर्ष स्थानको त्रिभुवन आर्मीसंगै समान १३ अंक जोडेको छ। समान अंक भएपनि टाईम्स अंक अन्तरको आधारमा दोस्रोमा छ।
पहिलो क्वाटरमा दुवै टोलीले १२–१२ अंक जोडेपछि दोस्रो क्वाटरमा टाईम्सले २१–१२ को अग्रतासहित हाफटाईमसम्म ३३–२४ को अग्रता बनाएको थियो। त्यसपछि टाईम्सले तेस्रो क्वाटर १७–८ र चौथो क्वाटर ३२–२८ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो। टाईम्सका लागि श्रेयास बहादुर थापाले सर्वाधिक २० अंक स्कोर गरे।
आईतबार राती भएको खेलमा विभागीय टोली आर्मी क्लबले सोलो बास्केटबल क्लबलाई १०३–६८ को फराकिलो अन्तरले पराजित गरेको छ। लिगमा आर्मीको यो सात खेलमा छैटौं जित हो र आर्मीको यो जितपछि ६ जित र १ हारबाट १३ अंक जोडेको छ। आर्मीका निश्चल महर्जनले सर्वाधिक २० अंक स्कोर गरे। आर्मीका नुकेश जुगजाली म्यान अफ दि म्याच घोषित भए।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।


