काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लबले लगातार आठौँ जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको खेलमा टाईम्सले रोएललाई ७८–६७ ले पराजित गरेको हो। टाईम्सले लगातार आठौँ जितपछि ९ खेलबाट १७ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ। टाईम्समा पेम्बा शेर्पा म्यान अफ दि म्याच घोषित भए।
यस्तै बुधबार राती भएको खेलमा त्रिभुभवन आर्मी क्लबले सोलो बास्केटबल क्लबलाई ८८–७० ले पराजपत गर्दै सातौँ जित हात पारेको छ। आर्मीको ८ खेलबाट १५ अंक भएको छ।
आर्मीका लागि सिमोन गुरुङले सर्वाधिक २२ अंक स्कोर गरे। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।


