काठमाडाैं। नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले छनोट चरण पार्दै ओलम्पिक खेलेकी पहिलो नेपाली महिला खेलाडी तेक्वान्दोकी संगीना वैद्यलाई बिहीबार सम्मान गरेको छ।
नेपाल चेम्बर अफ कमर्सको हीरक महोत्सवका अवसरमा आयोजित कार्यक्रममा संगीनासहित विभिन्न क्षेत्रका ७५ प्रथम महिलालाई सम्मान गरिएको थियो। संगीनाले २००४ को एथेन्स ओलम्पिक छनोट चरण पार गर्दै नेपालको प्रतिनिधित्व गरेकी थिइन्। ओलम्पिकमा छनोट चरण पार गरेर खेल्ने संगीना पहिलो महिला मात्र नभइ समग्रमा पहिलो नेपाली खेलाडी हुन्।
संगीनासंगै तेक्वान्दोका दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक र टेबलटेनिसका श्यान्टू श्रेष्ठले २०२४ को पेरिस ओलम्पिक छनोट चरण पार गर्दै खेलेका थिए।
अस्ट्रेलियाको मेलबर्नमा सन् १९९६ मा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपकी स्वर्ण विजेता संगीनाले आठौं र नवौं दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी थिइन्। पूर्व राष्ट्रपति डा. रामवरण यादव, नेपाल चेम्बर महिलाकी अध्यक्ष उर्मिलालगायतले संगीनासहितलाई एक कार्यक्रमबीच कदर पत्रसहित सम्मान गरे।


