काठमाडौं। नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसन (एनसीएसए) ले शनिबार मिङ्मा डेभिड ग्याबु शेर्पालाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणाली अन्तर्गत प्रतिनिधि सभाको सदस्य नियुक्त भएको अवसरमा सम्मान गरेको छ।
एनसीएसएले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शेर्पालाई प्रतिनिधि सभा सदस्य निर्वाचित भएकोमा बधाई ज्ञापन गर्दै सम्मानपत्रद्वारा सम्मान गरेको हो।
एनसीएसएबा अध्यक्ष रमेश कुमार पौडेलले शेर्पालाई सम्मान पत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। पौडेलले साहसिक खेलकुद र पर्यटन क्षेत्रमा रहेका प्रमुख चुनौतीहरूलाई राष्ट्रिय नीतिगत तहमा समाधान गर्न शेर्पाले महत्वपूर्ण भूमिका खेल्नेमा दृढ विश्वास व्यक्त गरे। साथै, यस क्षेत्रको दिगो विकास र संस्थागत सुदृढीकरणका लागि यी विषयहरू संसदमा उठाइनु अत्यावश्यक रहेको विषयमा पनि पौडेलले जोड दिए।
प्रख्यात पर्वतारोही, गिनिज वर्ल्ड रेकर्डधारी तथा समाजसेवी शेर्पालाई उनको नयाँ जिम्मेवारी तथा आगामी योगदानका लागि एनसीएसका सम्पूर्ण बोर्ड सदस्यहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शेर्पाले नेपालमा खेलकुद तथा साहसिक पर्यटनको विकासका लागि समन्वित प्रयासको आवश्यकता रहेको बताए। साथै उनले बुढानिलकण्ठमा एनसीएसएका लागि उपलब्ध गराइएको जग्गामा वाल क्लाइम्बिङ सहित बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने प्रस्ताव समेत अघि सारे। प्रस्तावित संरचनामा आइस क्लाइम्बिङ र स्किइङका लागि पूर्वाधार, खेलाडीहरूको प्रशिक्षण र सीप विकासका लागि छात्रावास तथा आवश्यक सुविधा समावेश गर्न सकिने शेर्पाले बताए।
शेर्पाले साहसिक खेलकुद र पर्यटन क्षेत्रमा देखिएका समस्याहरू संसदमा उठाउने तथा दीर्घकालीन नीतिगत समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।


