गोल्डेनगेटलाई हराउँदै आर्मी क्वालिफायरमा, टाइम्सविरुद्ध हाउण्ड्सको बदला


काठमाडौं। त्रिभुवन आर्मी क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को क्वालिफायरमा प्रवेश गरेको छ। आर्मीले शनिबार भएको खेलमा गोल्डेनगेट बास्केटबल क्लबलाई ९५-८८ ले पराजित गर्दै लिगमा एक खेल बाँकी छँदै शीर्ष दुईमा स्थान पक्का गर्दै पहिलो क्वालिफायरमा स्थान बनाएको हो।

यो जितपछि आर्मीले १३ खेल खेल्दा १२ खेल जित्दै २५ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ। समान खेलबाट १२ जित र २ हारको नतिजापछि गोल्डेनगेट २४ अंकसहित दोस्रो स्थानमा छ। अब आर्मीले अन्तिम खेलमा केभिसी हाउण्ड्ससँग खेल्नेछ र उक्त खेलमा पराजित भएपनि आर्मी शीर्ष दुईमा रहने पक्का छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले राम्रो सुरुवात गरेको थियो। गोल्डेनगेटले पहिलो क्वाटरमा ३०-२० को अग्रता बनाएको थियो। तर दोस्रो क्वाटर आर्मीले पुनरागमन गर्दै २२-१७ ले आफ्नो पक्षमा पारेको थियो। यद्यपी हाफटाइमसम्म गोल्डेनगेटले ४७-४२ को अग्रता बनाएको थियो।
तेस्रो क्वाटर पनि आर्मीले २२-२१ ले आफ्नो पक्षमा पार्दै गोल्डेनगेटको अग्रतालाई घटाउँदै ६८-६४ मा झारेको थियो।

चौथो क्वाटरमा आर्मीले आक्रमक सुरुवात गर्दै अंक बराबरी गरेपछि गोल्डेनगेट विरुद्ध खेलमा अग्रता बनाएको थियो। चौथो क्वाटर आर्मीले ३१-२० ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो। आर्मीका निश्चल महर्जन म्यान अफ दि म्याच घोषित भए। उनले सर्वाधिक २९ अंक स्कोर गरे। यस्तै शनिबार भएको पहिलो खेलमा केभिसी हाउण्ड्सले टाइम्स बास्केटबल क्लबललाई ७८-६८ ले पराजित गरेको हो। हाउण्ड्सको यो नवौँ जित हो।

हाउण्ड्सले पहिलो चरणमा टाइम्ससँग बेहोरेको हारको बदला लिएको छ। यसअघि पहिलो चरणमा टाइम्सले हाउण्ड्सलाई ७३-६८ ले पराजित गरेको थियो।
पहिलो चरणमा ७ मध्ये ६ खेल जितेको टाइम्सको यो लगातार दोस्रो हार हो। पहिलो खेलमै पराजित भएको टाइम्सले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै लगातार दश खेल जितेपनि पछिल्लो दुई खेलमा टाइम्स पराजित भएको हो। यसअघि खेलमा टाइम्स त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो।

हारपछि १३ खेलबाट २३ अंक जोडेको टाइम्स तेस्रो स्थानमै यथावत छ। नवौँ जित हात पारेको हाउण्ड्स २२ अंक जोडेर चौथो स्थानमै यथावत छ। हाउण्ड्स र टाइम्स बीचको खेलमा हाउण्ड्सले पहिलो क्वाटरमा अग्रता लिएको थियो भने त्यसपछि तीनै क्वाटरमा टाइम्सले आफ्नो पक्षमा पारेको थियो। तर पहिलो क्वाटरमा लिएको १६ अंकको अग्रता नै हाउण्ड्सलाई जित निकाल्न निर्णायक बन्यो।

टाइम्सले तीन क्वाटर आफ्नो पक्षमा पार्दा अंकदूरी कम पारेपनि हाउण्ड्सलाई जितबाट रोक्न सकेन। टाइम्स विरुद्ध पहिलो क्वाटर हाउण्ड्सले २३-७ को फराकिलो अग्रता बनाएको थियो। स्रो क्वाटर प्रतिस्पर्धात्मक बन्दा टाइम्सले २३-२२ को अग्रता लिएपनि हाफटाइमसम्म हाउण्ड्स ४५-३० ले अघि रह्यो।
तेस्रो क्वाटर पनि टाइम्सले १५-१३ ले आफ्नो पक्षमा पारेको थियो तर चौथो क्वाटरअघि हाउण्ड्स नै ५८-४५ ले अघि थियो। चौथो क्वाटर पनि टाइम्सले २३-२० ले आफ्नो पक्षमा पार्‍यो तर जित हात पार्न सकेन।

हाउण्ड्सका कप्तान विजय बुर्जा खेलको म्यान अफ दि म्याच घोषित भए। उनले सर्वाधिक २८ अंक स्कोर गरे। नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको एचजेएनबीएलमा ८ टिमले डबल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। लिग चरणमा अब ४ खेल बाँकी छ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्।

प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन्। यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको