काठमाडाैं। ललितपुरको सातदोबाटोमा आयोजना हुने ‘पाँचौं कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता’ मा सहभागी हुन कर्णाली प्रदेशको कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ।
प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले एक कार्यक्रमका बीच बिदाइ गरेका हुन्।
नेपाल कराते महासंघको आयोजना तथा गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा यही चैत्र २६ देखि २८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश कराते महासंघले चैत्र १५ गते नै प्रदेशस्तरीय छनोट सम्पन्न गरेको थियो। सोही छनोटबाट छानिएका खेलाडीहरूले राष्ट्रिय प्रतियोगितामा कर्णालीको प्रतिनिधित्व गर्नेछन्।
बिदाइ कार्यक्रममा सदस्य–सचिव चन्दले खेलाडीहरूलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्दै अनुशासनमा रहेर प्रदेशको गौरव बढाउन हौसला प्रदान गरे। उनले खेलाडीहरूको सफलताको कामना गर्दै परिषद्ले सधैं खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
कर्णाली प्रदेश कराते महासंघका अनुसार प्रतियोगितामा सहभागी हुने टोलीमा पुरुष एकल कातामा अशोक वि.क. तथा कुमितेतर्फ ५० के.जी.मा नरेन्द्र अधिकारी, ५५ के.जी.मा मिसन रास्कोटी मगर, ६० के.जी.मा राजन वि.सी., ६७ के.जी.मा लविस पचभैया मगर, ७५ के.जी.मा प्रकाश सुनार, -८४ के.जी.मा बसन्त कुमार घर्ती र +८४ के.जी.मा गोपाल गुरुङ्ग रहेका छन्।
त्यसैगरी, महिलातर्फ एकल कातामा बिपना रावल र टिम कातामा बिपना रावल, सुस्मिता बिष्ट र दिलमाया शाहीले प्रतिस्पर्धा गर्नेछन्। महिला कुमितेतर्फ ४५ के.जी.मा प्रेरणा वि.क., ५० के.जी.मा बिन्दु शाही, ५५ के.जी.मा प्रेयका शाही, ६१ के.जी.मा पार्वती बडुवाल र +६८ के.जी.मा सुक्मा वि.क. रहेका छन्।
टोलीको प्रशिक्षकमा सोनामाया थापा र सुरज नेपाली, व्यवस्थापकमा जगत प्रसाद रिजाल तथा निर्णायकमा तेजु गुरुङ्ग र हेमन्त कुमार मल्ल रहेका छन्।


