काठमाडौं। नेपालले आईटीएफ एसिया १२ अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा सोमबार विजयी सुरुआत गरेको छ। नेपालको ब्वाइज÷गल्र्स दुवै टिमले जितका साथ यात्रा प्रारम्भ गरेका हुन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको समूह ‘बी’ को लिग खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित ग¥यो। सिंगल्समा नेपालका सभ्यजंग कार्कीले रायन मोहम्मदलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे। अर्को सिंगल्समा नेपालका आरित मल्लले जब्रिल जब्बरलाई सीधा सेटमा ६–० र ६–० ले हराए।
डबल्समा नेपालका साहंश बस्नेत र आरितको जोडीले अहमद साहहान र रायनको जोडीलाई ६–२ र ६–० को सेटमा पाखा लगाए। नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत गल्र्सको समूह ‘ए’ को लिगमा नेपालले पाकिस्तानलाई ३–० ले पन्छायो।
पहिलो सिंगल्समा नेपालकी आर्या पौडेलले साहरिन उमरलाई ६–२ र ६–० को सोझो सेटमा पराजित गरिन्। सिंगल्समै नेपालकी सारा पन्तले साहनुर उमरलाई ६–० र ६–१ को सोझो सेटमा हराइन्। डबल्समा नाइरा घले र साराको जोडीले साहरिन र साहनुरको जोडीमाथि ६–३ र ६–० को जित दर्ता गरे।
ब्वाइजको समूह ‘ए’ मा श्रीलंकाले भुटानलाई ३–० तथा गल्र्सको समूह ‘ए’ मा श्रीलंकाले माल्दिभ्स २–१ ले पराजित गरे। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे। प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, पाकिस्तान, भुटान र श्रीलकाको सहभागिता रहेको छ। पुरुषमा १८ र महिलामा १५ खेलाडी सहभागी रहेको नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन्।
यसै प्रतियोगिताबाट पहिलो र दोश्रो हुने ब्वाइज÷गल्र्स टिमले सन् २०२६ को सेप्टेम्वर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगितामा खेल्ने अवसर पाउने छन्। नेपालले दक्षिण एसियाली छनोट प्रतियोगिता आयोजना गरेको पाँचौंपटक हो । एक टिमले २ सिंगल्स र १ डबल्स खेल्नु पर्छ।


