दुई पटक सरेको कोशी प्राइड लिग अब ९ जेठबाट


काठमाडाैं। कोशी प्राइड प्रालीले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करण जेठ ९ बाट सुरु हुने भएको छ।

आइतबार आयोजक केपिएलका निर्देशक अफजल हुसेनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ मिति घोषणा गरेका हुन्।

प्रतियोगिताको नयाँ मितिलाई नेपाल क्रिकेट संघ (क्यान)लेसमेत स्विकृत दिएको छ। यसअघि प्रतियोगिता फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो। तर, विभिन्न कारण प्रतियोगिता दुई पटक सरेको थियो। अब, भने प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म हुनेछ।

क्यानका सचिव पारस खड्काले विभिन्न कारण सर्दै आएको प्रतियोगिता अब भने घोषित समयमै आयोजना हुने प्रष्ट पारे। ‘विश्व राजनीतिको घटनाक्रम र नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सहभागिताको कारण प्रतियोगिता सर्दै आएको थियो। अब, भने प्रतियोगिता निर्धारित समयमै हुन्छ,’ पूर्व कप्तान पारस खड्काले भने, ‘यसपटक प्रतियोगिता राष्ट्रिय खेलाडी समेत खेल्न तयार छन्। समय पनि मिलेको छ।’

पत्रकार सम्मेलनमै आकाश खड्का मालिक रहेको एभरेष्ट थन्डर्सले मुख्य प्रयोजकमा सिलिकन एजुकेसन नेट्वर्कलाई भित्राएको छ। सम्झौता पत्रमा खड्का र सिलिकन एजुकेसनका डाइरेक्टर विवस शमशेर कुँवरले हस्ताक्षर गरेका थिए।

प्रतियोगितामा विभिन्न सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन्। यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन्। अक्सनमा २३२ खेलाडी समावेश थिए। क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १०३ खेलाडी रहेका थिए। २३२ खेलाडी मध्ये ८४ खेलाडी बिक्री भएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको