सुरथ लामाले जिते कांस्य पदक


काठमाडाैं। स्कटल्यान्डमा बसोबास गर्दै आएका नेपाली मुलका तेक्वान्दो खेलाडी सुरथ लामाले मे ३ मा सम्पन्न वल्र्ड तेक्वान्दो प्रेसिडेन्ट कप जि ३– २०२६ अन्तर्गत अन्डर–६० पुरुष विधामा टिम जीबीआरका तर्फबाट व्यक्तिगत कांस्य पदक जित्न सफल भएका छन्।

प्रतियोगितामा पदक जितेपछि लामाले खुसी व्यक्त गर्दै भने, “प्रेसिडेन्ट कप जि ३ प्रतियोगिता निकै प्रतिष्ठित उपाधि हो र म अत्यन्त खुशी छु।” लामाले सन् १९८६ मा दिल्लीबाट तेक्वान्दो खेल्न सुरु गरेका थिए। नेपालमा २०१५ को भूकम्पपछि उनी जुलाई २०१५ मा बेलायत पुगेका थिए। हाल उनी स्कटल्यान्डस्थित पर्थ एण्ड किनरोस काउन्सिलमा कार्यरत रहँदै तेक्वान्दो खेललाई निरन्तरता दिइरहेका छन्।

उनी सन् २०२२ र २०२३ मा स्कटिश नेशनल च्याम्पियन बनेका थिए भने २०२३ र २०२४ मा स्कटिश ओपन च्याम्पियन बन्न सफल भएका थिए। त्यसैगरी उनले २०२३, २०२४ र २०२५ मा रिजनल च्याम्पियनको उपाधि जितेका थिए भने २०२३ मा लानार्कशायर ओपन च्याम्पियन पनि बनेका थिए।

लामाले २०२४ र २०२५ मा नटिङ्घममा आयोजित ब्रिटिश नेशनल प्रतियोगितामा पनि तेक्वान्दो पुम्से अन्डर–६० पुरुष विधामा सहभागिता जनाएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको