हिमालयन स्पिरिट कपमा फ्रिस्बी फ्यान्टम र काठमाडौं हक्स विजयी


काठमाडौं। नेपाल फ्लाइङ डिस्क फेडेरेसन (एनएफडीएफ) द्वारा शुक्रबार काठमाडौंको कपनस्थित ह्यान्डबल मैदानमा आयोजित अल्टिमेट फ्रिस्बी प्रतियोगिता ‘हिमालयन स्पिरिट कप’ को उद्घाटन दिन फ्रिस्बी फ्यान्टम र काठमाडौं हक्स विजयी भएका छन्।

दिनको पहिलो खेलमा फ्रिस्बी फ्यान्टमले यती अल्टिमेटलाई १३–८ गोलले पराजित गर्दै फाइनलमा स्थान बनायो। फ्यान्टमका श्रेयास खड्का ६ गोलसहित प्लेयर अफ द म्याच घोषित भए।

अर्को खेलमा काठमाडौं हक्सले होप फाउन्डेसनलाई ९–२ ले हराउँदै अर्को चरणमा प्रवेश गर्यो। काठमाडौं हक्सका लागि मिंगमार लामाले उत्कृष्ट प्रदर्शन गर्दै ६ गोल गरे। त्यसैगरी, साइमोन खड्का, फुर्बा शेर्पा र सागर लुइटेलले समान एक–एक गोल गरे।

होप फाउन्डेसनका लागि किरण र राजनले एक–एक गोल गरे।

काठमाडौं हक्सले शनिबार हुने सेमिफाइनलमा चुनिखेल वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेताले फाइनलमा फ्रिस्बी फ्यान्टमसँग खेल्नेछ।

प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराईसहित नेपाल फ्लाइङ डिस्क फेडेरेसनका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। अतिथिहरूले खेलाडीहरूले प्रदर्शन गरेको उत्साह, टिमवर्क र खेलभावनाको प्रशंसा गर्दै नेपालमा अल्टिमेट फ्रिस्बीको विकासका लागि यस्ता प्रतियोगिताको महत्वमा जोड दिएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको