विद्युत र केयुकेएल सेमिफाइनलमा

काठमाडाैं। नेपाल विद्युत प्राधिकरण ‘बी’ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) १५औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

कुलेश्वरस्थित भिजनोभा रिक्रिएसनमा भएको क्वाटरफाइनलमा विद्युत ‘बी’ ले जनक शिक्षा सामाग्री केन्द्रलाई २–० गोलले पराजित ग¥यो। केयुकेएलले नेपाल बायु सेवा निगम ‘ए’ लाई २–० गोलले हरायो।

अन्य क्वाटरफाइनलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल बैंक लिमिटेडलाई ३–० तथा कृषि विकास बैंकले विद्युत ‘ए’ लाई ४–० गोलले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । सेमिफाइनलमा कृषिको भेट केयुकेएलसंग हुनेछ भने विद्युत ‘बी’ ले नागरिक उड्डयनको सामना गर्ने छ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा भइरहेको प्रतियोगिताको महिला फुटसलमा पनि सेमिफाइनल समीकरण पूरा भएको छ। लुम्बिनी विकास बैंक र नेपाल वैंक लिमिटेड तथा ग्लोबल आईएमइ बैंक र कृषिबीच सेमिफाइनल हुनेछ। पुरुष÷महिला दुवैमा कृषि डिफेन्डिङ च्याम्पियन हुन्।

पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। महिलामा विजेताले ३५ हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन्।

कर्मचारी खेलकुदअन्तर्गत फुटसल अन्तिम प्रतियोगिता हो। विभिन्न ४ खेल समावेश प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल सम्पन्न भइसकेको छ।

ब्याडमिन्टनमा कृषि विकास बैंकले २ तथा विद्युत, नेपाल नागरिक उड्डयन प्राधिकरण, एनसेल र एनटीसीले समान १–१ स्वर्ण जितेका छन्। टेबलटेनिसमा एभरेष्ट बैंक लिमिटेड र नेपाल वायु सेवा निगमले समान २–२ तथा नागरिक उड्डयनले १ स्वर्ण हात पारेका छन्। बुद्धिचालमा निगमका दिपेन्द्र ठाकुर विजेता बने। सबै खेलका पदक विजेताले नगद पुरस्कार पाउने छन्। कुल पुरस्कार राशी २ लाख ७५ रुपैयाँ रहेको इशानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन्। प्रतियोगिता आइतबार सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको