काठमाडौं। बागमती प्रदेश खेलकुद विकास परिषद्ले १६ औँ राष्ट्रपति रनिङ शिल्डका लागि अन्तिम छनोट प्रतियोगिता यहि जेठ १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना गर्ने भएको छ।
बागमति प्रदेशका १३ जिल्लाबाट कराते, तेक्वान्दो, उसु, भलिबल, कबड्डी र एथलेटिक्सका खेलाडीहरू छनोट भइसकेको र अब प्रदेशको प्रतिनिधित्व गर्न अन्तिम छनोटका लागि प्रतिस्पर्धा हुन लागेको हो। परिषद्का सदस्य सचिव दीपक लामाका अनुसार ६ खेलबाट उत्कृष्ट १११ खेलाडी छनोट गरिनेछ।
प्रतियोगिता दशरथ रङ्गशाला र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ र त्यसको उद्घाटन बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने आज आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
लामाका अनुसार नगरस्तरीय छनोटदेखि जिल्ला, प्रदेश तथा मुख्य प्रतियोगितासम्मका लागि प्रदेशले ३ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बागमती राष्ट्रपति रनिङ शिल्डको साविक विजेता पनि हो। बागमतीले ३६ स्वर्ण, ११ रजत र ७ कांस्य पदक जित्दै उपाधि रक्षा गरेको थियो। यस्तै प्रदेशले खेलकुद क्षेत्रमा महत्वपूर्ण परिवर्तन गर्ने योजना पनि बनाइरहेको छ।
लामाले भने “हामी प्रदेशको खेलकुद क्षेत्र सुधार गर्न प्रयासरत छौं। त्यसको सुरुवात खेलाडीलाई सुरक्षित भविष्यसहित प्रदेशमै टिकाइ राख्ने नीतिबाट हुनेछ। यसका लागि नीति निर्माणको काम भइरहेको छ।” लामाले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित रूपमा आयोजना नहुँदा खेलकुद क्षेत्रको विकास प्रभावित भएको पनि बताए। “देशकै ठूलो राष्ट्रिय प्रतियोगिता नियमित हुन नसक्दा खेलकुद क्षेत्र अघि बढ्न सक्दैन,” उनले थपे।
पत्रकार सम्मेलनमा बाग्मती प्रदेश खेलकुद विकास परिषदका सदस्य रवि महर्जन, सुनिता गौतम र अन्जना शिवाकोटीको उपस्थिति थियो।