काठमाडौं। भारतको मुम्बईमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय जित कुन्डो मार्सल आर्ट एसोसिएसनद्वारा आयोजित स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाली टोली टिम च्याम्पियन बनेको छ।
पुरुष तथा महिला दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीहरूले विभिन्न तौल समूहमा स्वर्ण पदक जितेका हुन्। प्रतियोगितामा सहभागी नेपाली टोलीले अनुशासित, साहसिक तथा प्रभावशाली खेल प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव उच्च बनाएको छ।
पुरुषतर्फ विजय थापाले ५० देखि ५५ केजी, अमित थापाले ५५ देखि ६० केजी, सलिल थापाले ५० केजीमुनि, शुसान्त चौधरी र विवेक थापाले ६० देखि ६५ केजी, सञ्जीव माझीले ६५ देखि ७० केजी तथा पिताम्बर मगरले ७० केजीमाथिको तौल समूहमा स्वर्ण पदक जिते।
महिलातर्फ निजला मगरले ४५ केजीमुनि, जमुना बिकेले ६० देखि ६५ केजी, फुलग्याल्मो तामाङले ५५ देखि ६० केजी तथा निलम कोइरालाले ४५ देखि ५० केजी तौल समूहमा स्वर्ण पदक जिते। यस्तै सारिका नेपालीले ५० देखि ५५ केजी तौल समूहमा रजत पदक हात पारिन्।
प्रतियोगिताको निर्णायक मण्डलमा नेपालबाट अन्तर्राष्ट्रिय जित कुन्डो मार्सल आर्ट एसोसिएसन नेपालका महासचिव तथा अन्तर्राष्ट्रिय प्रशिक्षक शिवबहादुर थापा प्रमुख जूरीको भूमिकामा रहेका थिए। भारतबाट रानी, मोहम्मद रहमा सलमानी तथा अंकुर कौशिक निर्णायकका रूपमा सहभागी थिए।
नेपालबाट दक्षिण एसियाली रेफ्री दीपेन्द्र श्रेष्ठ, कुमार बस्नेत तथा नवराज दनुवारले पनि सफलतापूर्वक निर्णायकको जिम्मेवारी निर्वाह गरेका थिए। टोलीको स्वास्थ्य सेवाका लागि सृजना खड्काले नर्सका रूपमा महत्वपूर्ण भूमिका निभाएकी थिइन्।
नेपाली टोलीको यस ऐतिहासिक सफलताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको जित कुन्डो मार्सल आर्टको बढ्दो प्रभाव, क्षमता तथा सम्भावनालाई थप उजागर गरेको छ। खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापन टोलीको सामूहिक प्रयासका कारण नेपालले प्रतियोगिताको उपाधि जित्दै राष्ट्रिय गौरव कायम राख्न सफल भएको छ।


