काठमाडौं। साफ महिला च्याम्पियनसिपमा नेपालले संघर्षपूर्ण जित दर्ता गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ। भारतको गोवास्थित जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न उद्घाटन खेलमा नेपालले भुटानलाई १–० गोलअन्तरले पराजित गरेको हो।
नेपालले खेलकाे २३औं मिनेटमा अग्रता बनायो। पेनाल्टी बक्स भित्रबाट गीता रानाले हानेको प्रहार भुटानको खेलाडीलाई लाग्दै गोलमा परिणत भयो। याे नै नेपालकाे जितमा निर्णायक बन्याे।
यस जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको छ। उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी भएको नेपाली टोलीका लागि पहिलो खेलको जितले आत्मविश्वास थप बढाएको छ।
नेपालले अब आइतबार श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्नेछ।


