विश्वकप खेल्ने स्पोनको टोली घोषणा, रियलका कुनै पनि खेलाडी परेन्


काठमाडौं। स्पेनले सोमबार सार्वजनिक गरेको विश्वकप टोलीमा चोटग्रस्त फरवार्ड लमिन यमल र निको विलियम्स समावेश भएका छन्। तर, यसपटक स्पेनको टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन्।

यमल र विलियम्स दुवैले सिजनको अन्त्यतिर मांसपेशीमा चोट बोकेका थिए। यद्यपि, प्रशिक्षक लुइस डे ला फुएन्तेले विश्वकप सुरु हुँदासम्म उनीहरू फिट हुने विश्वास व्यक्त गरेका छन्।

‘हामी कुनै पनि प्रक्रियालाई हतारमा अघि बढाउँदैनौं। क्लबहरूसँग निरन्तर समन्वयमा छौं,’ डे ला फुएन्तेले भने, ‘हामीसँग आएको जानकारी अनुसार उनीहरू पहिलो वा दोस्रो खेलसम्म पूर्ण फिट हुनेछन्। खेलाडीहरू जोखिम लिन तयार हुने समय विश्वकप नै हो, तर हामी सतर्क रहनेछौं।’

स्पेनले समूह ‘एच’ अन्तर्गत जुन १५ मा अमेरिकाको एटलान्टामा केप भर्डेविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि जुन २१ मा साउदी अरब र जुन २६ मा मेक्सिकोको ग्वाडालाहारामा उरुग्वेसँग खेल्ने तालिका छ।

रियलका डिफेन्डर डिन हुइसेन स्पेनको टोलीमा पर्ने दाबेदारमध्ये एक थिए। तर, अन्तिम टोलीमा उनी समावेश भएनन्। ‘म क्लब हेरेर खेलाडी छनोट गर्दिनँ। यी सबै राष्ट्रिय टोलीका खेलाडी हुन्,’ डे ला फुएन्तेले भने, ‘मेरो चाहना भनेको उनीहरूले राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दा गर्व महसुस गरून् भन्ने मात्रै हो।’

स्पेनिस लिग लगातार दुई वर्ष जितेको बार्सिलोनाबाट सर्वाधिक आठ खेलाडी टोलीमा परेका छन्। अर्कोतर्फ रियलले लगातार दोस्रो सिजन पनि कुनै ठूलो उपाधि जित्न सकेन।

यद्यपि, रियलका केही स्टार खेलाडी भने अन्य देशको प्रतिनिधित्व गर्दै विश्वकप खेल्नेछन्। फ्रान्सका किलियन एमबाप्पे, ब्राजिलका भिनिसियस जुनियर र इङ्ल्यान्डका जुड बेलिङ्घम त्यसमा प्रमुख हुन्।

बार्सिलोनाका मिडफिल्डर फर्मिन लोपेज भने दाहिने खुट्टामा फ्र्याक्चर भएपछि अपेक्षाअनुसार टोलीबाट बाहिरिएका छन्। जनवरीमा खुट्टामा चोट लागेपछि आर्सनलबाट एक खेल मात्रै खेलेका मिडफिल्डर मिकेल मेरिनो पुनः टोलीमा फर्किएका छन्।

हालै चोट बोकेका पेरिस सेन्ट–जर्मेन (पीएसजी)का मिडफिल्डर फाबियन रुइज पनि टोलीमा समावेश छन्। स्पेनले शनिबारदेखि विश्वकप तयारी सुरु गर्नेछ। उसले जुन ४ मा इराक र जुन ९ मा पेरुसँग अभ्यास खेल खेल्ने तालिका छ।

स्पेनले २०२२ को विश्वकपमा मोरक्कोसँग अन्तिम–१६ मा पराजित भएपछि पुनरागमन गर्दै जर्मनीमा भएको युरो २०२४ जितेको थियो। साथै उसले २०२३ नेसन्स लिगको उपाधि जित्दा २०२५ संस्करणमा पोर्चुगलसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

स्पेनले २०१० मा एकमात्र विश्वकप जितेपछि त्यसयता अन्तिम–१६ भन्दा माथिको यात्रा तय गर्न सकेको छैन।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको