काभा महिला भलिबलमा माल्दिभ्सको सान्त्वना जित

काठमाडौं। सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सले सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बुधबार सातौं स्थानका लागि भएको खेलमा माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्‍यो।

पहिलो सेट २५–२७ ले गुमाएको माल्दिभ्सले त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पार्‍यो। माल्दिभ्सले दोस्रो सेट २५–११, तेस्रो सेट २५–१७ र चौथो सेट २५–१२ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो।

यस जितसँगै आठ टोली सहभागी प्रतियोगितामा माल्दिभ्स सातौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गर्न सफल भयो। पराजित बंगलादेश भने आठौं स्थानमा सीमित रह्यो।

प्रतियोगिताअन्तर्गत अब सेमिफाइनल चरणका खेल बिहीबार हुनेछन्। पहिलो सेमिफाइनलमा भारत र काजाकिस्तान दिउँसो २:३० बजे प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले साँझ ५ बजे इरानसँग प्रतिस्पर्धा गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको