रामेछापमा आइटिएफ रेफ्री सेमिनार सम्पन्न

काठमाडौं। नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजानामा बागमती प्रदेशस्तरीय रेफ्री सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल आइटिएफ तेक्वान्दो महासंघको तत्वाधन र नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी रामेछापको आयोजानामा जेठ १६ र १७ गते दुईदिने आइटिएफ तेक्वान्दो सेमिनार रामेछापमा सम्पन्न भएको हो । उक्त सेमिनारमा बागमती प्रदेशका ११ जिल्लाका ४३ जना खेलाडी तथा प्रशिक्षार्थीहरूको सहभागिता महासंघका प्रतिनिधि तथा नेसनल तेक्वान्दो आइटिएफ एकेडेमीका अध्यक्ष रूपसिंह तामाङले जानकारी दिए । प्रतियोगिता तथा खेल सञ्चालनमा आवश्यक प्राविधिक ज्ञान, नियम तथा रेफ्रीसम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो । सेमिनारमा आइटिएफ तेक्वान्दो महासंघका सिनियर प्रशिक्षक आशिष कार्की र राजेश बोलाखेले प्रशिक्षण दिएका थिए।

उनीहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल सञ्चालन, निर्णायकको भूमिका, प्रतियोगिताका नियम तथा व्यवहारिक पक्षबारे प्रशिक्षण प्रदान गरेको जानकारी दिए । कार्यक्रमको उद्घाटन बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले गरेका थिए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) पूर्वसदस्य, नेपाल आइटिएफ तेक्वान्दो महासंघका पूर्वअध्यक्ष तथा एसियाली तेक्वान्दो महासंघका कार्यकारी सदस्य अञ्जन धमला पनि उपस्थित थिए । कार्यक्रममा धमलाले समारोहमा तेक्वान्दो खेलको विकासका लागि दक्ष रेफ्री तथा प्राविधिक जनशक्ति उत्पादन आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले खेलकुद क्षेत्रलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सेमिनार सम्पन्न भएपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । महासंघका पूर्वअध्यक्ष तथा एसियाली तेक्वान्दो महासंघका कार्यकारी सदस्य धमलाले प्रमाणपत्र वितरण गरेका थिए । महासंघले सेमिनारमार्फत प्रदेशस्तरमा दक्ष रेफ्री उत्पादन गरी तेक्वान्दो प्रतियोगितालाई अझ व्यवस्थित, निष्पक्ष र अन्तर्राष्ट्रिय स्तरअनुकूल बनाउन महŒवपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । साथै आगामी दिनमा पनि यस्ता प्राविधिक तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको