काठमाडौं। निम्स, ग्रिनफिल्ड र चाँदबागले दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको आइतबार जितेका छन्। निम्स सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र चाँदबाग सिनियर गल्र्समा च्याम्पियन बने।
नागर्जुन नगरपालिका वडा ५, सीतापाइलास्थित आयोजक महामञ्जुश्रीको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा निम्सले विल्सन एकेडेमीलाई १८–८ ले पराजित ग¥यो। जुनियर ब्वाइजको फइनलमा ग्रिनफिल्डले आयोजक महामञ्जुश्रीलाई ९–६ ले हरायो। गल्र्सको उपाधि भिडन्तमा चाँदबागले पुष्पसदनलाई १७–३ ले सहजै पाखा लगायो।
विजेता ३ मध्ये दुई टोली उपाधि रक्षा गर्न सफल भए। सिनियर गल्र्समा चाँदबाग र जुनियर ब्वाइजमा ग्रिनफिल्ड लगातार दोश्रोपटक च्याम्पियन बनेका हुन्। सिनियर ब्वाइजको साविक विजेता विल्सन यसपटक उपविजेतामा सीमित भयो।
सिनियर ब्वाइजमा निम्सका फुर्वा साङ्गे तामाङ, जुनियर ब्वाइजमा ग्रिनफिल्डका अजय मगर र सिनियर गल्र्समा चाँदबागकी अमौलिका खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। सिनियर ब्वाइजमा सभ्यता, जुनियर ब्वाइजमा एनसीसीएस र सिनियर गल्र्समा स्वर्णिम ‘इमर्जिङ टिम’ चुनिए। सिनियर ब्वाइजमा होली भिजन, जुनियर ब्वाइजमा कोहीनूर र सिनियर गल्र्समा केभीएस, रानीवन अनुशासित टिम ठहरिए।
विजेतालाई महामञ्जुश्रीका प्रिन्सिपल चुडामणी मरासिनी, भाइस प्रिन्सिपलद्वय हेमलता चाम्लिङ र प्रेम जिसी, बास्केटबल प्रशिक्षक सैलेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सो अवसरमा प्रिन्सिपल मरासिनीले यस वर्षझै हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसकै अवसरमा आगामी संस्करण नियमित रुपमा आयोजना गर्ने प्रतिबद्धता जनाए।
तीनदिने प्रतियोगितामा ४४ विद्यालयबाट सिनियर ब्वाइजमा ३२ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान २०–२० टिम गरी ७२ टिम सहभागी थिए।