संयोग र योङगी नयाँ राष्ट्रिय च्याम्पियन

काठमाडाैं। नेपाल प्रहरीका संयोग कपाली र एपीएफकी योङगी पौडेलले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि आइतबार जितेका छन्।

संयोग पुरुष तथा योङगी महिलामा पहिलोपटक राष्ट्रिय च्याम्पियन बनेका हुन्। पुरुष÷महिला दुवैमा फाइनल पुग्ने चारै खेलाडी जसले जितेपनि नयाँ राष्ट्रिय च्याम्पियन बन्ने निश्चित थियो।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा संयोगले आफ्नै क्लबका एलेक्स महर्जनलाई ११–५, १३–११, ११–८ र ११–१ ले पराजित गरे। राष्ट्रिय प्रतियोगिताको पुरुष सिंगल्समा संयोगको ठूलो उपलब्धी भनेको सेमिफाइनलसम्म पुग्नु हो। बागमती प्रदेशका रुविन महर्जन तथा सुदूरपश्चिम प्रदेशका हिमाल विष्ट तेस्राे भए।

महिला सिंगल्समा योङगीले उपाधि यात्रा अवस्मरीण बनाइन्। राष्ट्रिय प्रतियोगिताको पहिलो सहभागितामै १८ वर्षीया योङगीले उपाधि जितेकी हुन्। योङगीले उपाधि भिडन्तमा शीर्ष २ वरीयताकी कोशी प्रदेशकी इभाना थापाको चुनौती ११–६, ८–११, १२–१०, ११–९ र ११–८ को सेटमा पन्छाइन्। समूह चरणको खेलमा पनि योङगीले इभानालाई हराएकी थिइन्।

त्यसअघि योङगीले सेमिफाइनलमा शीर्ष वरीयताकी नौपटककी राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठलाई ४–३ ले पाखा लगाएकी थिइन्। नवीतासहित प्रहरीकै रविना महर्जन तेश्रो बने। चारदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी÷नेपाल आर्मी÷एपीएफ) गरी १० टिमका १ सय १६ खेलाडीले सिनियर, जुनियर र क्याडेट गरी ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

यसअघि क्याडेट यु–१५ सिंगल्सको ब्वाइजमा एपीएफका निश्चल थापा र गल्र्समा नेपाल आर्मीकी सुरम्य शाक्य तथा जुनियर यु–१९ सिंगल्सको ब्वाइजमा नेपाल आर्मीका जयस्नु महर्जन र गल्र्समा प्रहरीकी प्राज्ना महर्जनले स्वर्ण जितेका थिए। पुरुष÷महिला टिम इभेन्टमा प्रहरी पहिलो भएको थियो। पुरुष डबल्समा बागमतीका सुजन गडाल र प्रजिल भट्टराईको जोडी, महिला डबल्समा एपीएफकी अनिता महर्जन र दीक्षा दाहालको जोडी तथा मिक्स डबल्समा प्रहरीका संयोग र नविताको जोडी च्याम्पियन बनेका थिए।

विजेतालाई बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, आयोजक अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्ष पूर्णशंकर श्रेष्ठ, महासचिव कुवेरप्रकाश सिंह, कोषाध्यक्ष ज्याकी महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। राष्ट्रिय प्रतियोगिताको ४१औं संस्करण पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदका दौरान भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको