काठमाडौं। पोखरा विश्वविद्यालय अन्तर्गत रहेको पोखरा विश्वविद्यालय फुटबल क्लबले ‘पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३’ को तेस्रो संस्करण आगामी जेठ २९ गतेदेखि असार ५ गतेसम्म आयोजना गर्ने भएको छ।
कास्कीको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपालभरका विश्वविद्यालयस्तरीय कलेज तथा शैक्षिक संस्थाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष बिमान प्रधानका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेता टोलीले नगद ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।
नेपालभरका ब्याचलर्स तथा मास्टर्स तहका कक्षा सञ्चालन गरिरहेका कलेजहरूलाई खेलकुदमार्फत जोड्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिताको तेस्रो संस्करण आयोजना गरिएको आयोजकको भनाइ छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा प्रशिक्षकलाई विभिन्न व्यक्तिगत विधामा पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीले ३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक तथा उदयीमान खेलाडीलाई जनही २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै क्वार्टरफाइनल चरणदेखि प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई १ हजार रुपैयाँसहित ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि प्रवेश शुल्क २५ हजार रुपैयाँ तोकिएको छ भने ५ हजार रुपैयाँ कार्ड डिपोजिट (फिर्ता योग्य) राखिएको छ। पहेंलो कार्डबापत २०० रुपैयाँ र रातो कार्डबापत ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
आयोजकका अनुसार टोली दर्ताको अन्तिम मिति जेठ २७ गते तोकिएको छ भने टाइ–सिट ड्र जेठ २८ गते गरिनेछ।