सेमिफाइनलअघि टोलीसँग जोडिइन् प्रीति राई

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलअघि राष्ट्रिय टोलीसँग जोडिएकी छन्।

विदेशी क्लब फुटबलमा व्यस्त रहेकाले प्रीति समूह चरणका खेलहरूमा उपलब्ध हुन सकेकी थिइनन्। उनले हालै जाेर्डनको एतिहाद क्लबबाट तथा त्यसअघि कम्बोडियाको प्रेह खान रिच स्वे रिएङबाट व्यावसायिक फुटबल खेलेकी थिइन्। क्लब फुटबलका प्रतिबद्धताका कारण उनी राष्ट्रिय टोलीमा ढिलो समावेश भएकी हुन्।

प्रीतिको आगमनसँगै सेमिफाइनलअघि नेपाली टोली थप बलियो बनेको छ। राष्ट्रिय टोलीकी महत्वपूर्ण मिडफिल्डर मानिने प्रीतिले टोलीको मध्यपंक्तिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नेपालले समूह चरणका दुवै खेलमा जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। नेपालले पहिलो खेलमा भुटानलाई १–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकामाथि २–० को जित दर्ता गरेको थियो।

लगातार दुई जितसहित आत्मविश्वास उच्च बनाएको नेपालले अब फाइनलका लागि साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको