काठमाडौं। गौतम कुमार पटेलको उत्कृष्ट बलिङ प्रेरणामा मोक्षदा स्कुलले तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगितामा विज्डम इङ्ग्लिस एकेडेमीलाई १२३ रनले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मोक्षदाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो। टोलीका लागि संश्रय श्रेष्ठले ५६ रनको अर्धशतकीय इनिङ्स खेले भने आरोन गिरीले ३६ रन योगदान दिए। यमुन केसीले १७ तथा चन्दन कुमार बेलदार चौहानले अविजित १२ रन जोडे।
विज्डमका सुवास कुँवरले दुई तथा साैरव अधिकारीले एक विकेट हात पारे।
१६५ रनको लक्ष्य पछ्याएको विज्डम इङ्ग्लिस एकेडेमी ९.४ ओभरमै ४१ रनमा अलआउट भयो। साइमन लम्साल क्षेत्रीले अविजित ७ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेन्न।
मोक्षदाको जितमा गौतम कुमार पटेल नायक बने। उनले ४ ओभरमा मात्र ४ रन खर्चेर ७ विकेट लिए। सौगत सेन्चुरी, यमुन केसी र सुयोग्य शाहले समान १–१ विकेट हात पारे।
यो जितसँगै समूह ई काे मोक्षदा स्कुलले दुई अंक जाेड्दै क्वाटरफाइनल प्रवेशकाे सम्भावना बलियाे बनाएकाे छ।