काठमाडौं। नेपाल शोतोकान कराते एसोसिएसन (एनएसकेए) को आयोजनामा जुन २ देखि ४ तारिखसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय शोतोकान कराते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा नेपालसहित विभिन्न राष्ट्रका करिब ९०० खेलाडीको सहभागिता रहेको थियो। प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल पहिलो स्थान हासिल गर्न सफल भयो। भारत दोस्रो, बंगलादेश तेस्रो तथा कतार चौथो स्थानमा रह्यो।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. अच्युतम लमिछाने रहेका थिए। कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रशिक्षक, खेलाडी, खेलप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली करातेको पहिचानलाई अझ सुदृढ बनाउनु रहेको थियो। साथै कराते खेलमार्फत अनुशासन, आत्मविश्वास र खेल संस्कृतिको विकासमा समेत प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
एनएसकेएले प्रतियोगिताको सफल आयोजनाले नेपालमा अन्तर्राष्ट्रियस्तरका कराते प्रतियोगिता सञ्चालन गर्ने क्षमता थप प्रमाणित गरेको जनाएको छ।