काठमाडाैं। आयोजक एन्जल्स हार्ट माविले दोस्राे राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय÷कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा भएको खेलमा एन्जल्स हार्टले गीताञ्जलीलाई २५–११ र २५–१५ को सोझो सेटमा पराजित ग¥यो।
अन्य खेलमा हिमरश्मिले नेपाल राष्ट्रिय मावि, नेपालटारलाई २५–२२ र २५–१७, कल्याण माविले प्रारम्भलाई २५–१४ र २५–१६, एन्जल्स हार्ट नेसनल स्कुलले न्युटन ‘बी’ लाई २८–२६, १७–२५ र १६–१४, लालीगुराँस नेसनल एकेडेमीले प्रारम्भलाई २५–२३ र २५–२१, ग्रिनफिल्डले पाटन हाइ स्कुललाई २५–१२ र २५–१७ तथा हिमरश्मिले चाणक्यलाई २५–१९ र २५–२२ ले हराए।
प्रतियोगिताको तार्केश्वर नगरपालिकाकी उपमेयर सृजना बुर्लाकोटी आर्यालले एक कार्यक्रमबीच उद्घाटन गरिन्। सो अवसरमा तार्केश्वर नगरपालिका शिक्षा विभागका प्रमुख सुदिनराज बढाथोकी, एन्जल्स हार्टका कार्यकारी अध्यक्ष लिलबहादुर पुन र प्रिन्सिपल धनबहादुर पुन, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतको उपस्थिति रहेको थियो।
लिग कम नकआउट प्रतियोगितामा १९ टिम सहभागी छन्। शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिने छ।
प्रतियोगितामा २०८२ सालमा एसइइ दिएका तथा कक्षा ११ र १२ को हकमा राष्ट्रिय परिक्षा बोर्डमा ०८२÷०८३ को रजिस्ट्रेसन प्राप्त १८ वर्ष ननाघेका विद्यार्थीले सहभागी हुन पाउने प्रावधान छ।