राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप शनिबार

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट संघले आयोजना गर्ने ‘राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप–२०२६’ जेठ ३० गते आयोजना हुने भएको छ।

मंगलबार पत्रकार सम्मेलनमार्फत नेपाल क्लाइम्बिङ स्पोर्ट संघले नेपालमा स्पोर्ट क्लाइम्बिङसहित साहसिक खेलकुद तथा खेल पर्यटनको विकास र प्रवर्द्धनका लागि विभिन्न प्रतियोगिता तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। प्रतियोगिता काठमाडौंको कालधारा, ठमेलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुनेछ।

प्रतियोगिता क्वालिफिकेसन र फाइनल राउन्ड गरी दुई चरणमा सम्पन्न हुनेछ। बोल्डरिङ विधामा मात्र आयोजना हुने भएकाले प्रतियोगिता एकदिने रहनेछ। राष्ट्रिय प्रतियोगिता भएकाले सातवटै प्रदेशबाट प्रतिनिधित्व हुने गरी १७ वर्ष वा सोभन्दा माथिका इच्छुक खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन्।

पुरुष तथा महिला दुवै समूहका क्वालिफिकेसन र फाइनल चरणका प्रतिस्पर्धा सञ्चालन हुनेछन्। क्वालिफिकेसन चरणबाट महिला र पुरुषतर्फ समान ८–८ जना खेलाडी फाइनल चरणका लागि छनोट हुनेछन्। फाइनल चरणको प्रतिस्पर्धापछि उत्कृष्ट प्रदर्शन गर्ने महिला तथा पुरुष खेलाडीहरूलाई प्रथम ३० हजार, द्वितीय २० र तृतीय १० स्थानका विजेताले पाउनेछ।

प्रतियोगिताको मुख्य उद्देश्य क्लाइम्बिङ खेलसँग आबद्ध खेलाडी, प्रशिक्षक, प्राविधिक तथा साहसिक खेल क्षेत्रमा संलग्न व्यक्तिहरूको मनोबल उच्च राख्दै यस क्षेत्रको विकास र प्रवर्द्धन गर्नु रहेको छ। साथै साहसिक खेलकुद तथा पर्यटनको प्रचार–प्रसारमार्फत राष्ट्रिय अर्थतन्त्र र राजस्व वृद्धिमा योगदान पुर्‍याउने लक्ष्य पनि प्रतियोगिताले लिएको आयाेजकले जनाएकाे छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको