काठमाडौं। काठमाडौं महानगरपालिका–२२ को आयोजनामा सम्पन्न दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिताको उपाधि डिभाइन फिटनेसका सगेन्द्र सिंहले जितेका छन्।
राष्ट्रिय सभागृहमा सम्पन्न प्रतियोगितामा विभिन्न तौल समूहका विजेताबीच भएको ओभरअल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै सगेन्द्र मिस्टर महानगर बनेका हुन्। उनले ७५ केजीमाथि तौल समूहको उपाधिसमेत जित्दै कुल ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगिताका विभिन्न तौल समूह तथा स्पोर्ट्स फिजिक्सतर्फ पनि खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। महिलातर्फ सीता खत्री र पुरुषतर्फ १७० सेमिमुनि आकाश श्रेष्ठ तथा १७० सेमिमाथि पुकार श्रेष्ठ विजेता बने।
विजेताहरूलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल र वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।