काठमाडौं टिम च्याम्पियन

काठमाडाैं। काठमाडौं जिल्ला तेस्राे बागमती प्रदेश खेलकुदअन्तर्गत जुडोमा सोमबार टिम च्याम्पियन बनेको छ। काठमाडौंले ४ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा ४ स्वर्ण र ४ कांस्यसाथ रामेछाप दोस्राे भयो। तेस्राे स्थानको ललितपुरले २ स्वर्ण, ३ रजत र ४ कांस्य हात पा¥यो। १३ स्वर्णका लागि प्रतिस्पर्धा भएको प्रतियोगितामा रसुवा, काभ्रेपलान्चोक र मकवानपुरले समान १–१ स्वर्ण प्राप्त गरे।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा काठमाडौंका प्रमोद तामाङ तथा महिलामा काठमाडौंकै जेनिशा वाइबा उत्कृष्ट खेलाडी घोषित भए। प्रमोदले ७३ केजीमुनि तथा जेनिशाले ४८ केजीमुनि स्वर्ण जितेका थिए। प्रमोद पाम जुडो क्लब तथा जेनिशा एमएमएसीमा प्रशिक्षणरत खेलाडी हुन्। उत्कृष्टद्वयले जनही २० हजार नगद पुरस्कार पाए।

विजेतालाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुई प्रतियोगितामा ८४ खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक धर्मकुमार श्रेष्ठले जनाएका छन्। हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ५ हजार, ४ हजार र ३÷३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको