एनओसी अवार्डमा विजय र एरिका सर्वश्रेष्ठ खेलाडी

काठमाडौँ। जुडोका विजय सिंजाली र कराँतेकी एरिका गुरुङ मङगलबार एनओसी अवार्ड २०२६ मा सर्वश्रेष्ठ खेलाडी घोषित भएका छन्।

पुरुषतर्फ विजय र महिलातर्फ एरिकाले एनओसी अवार्ड हासिल गरेका हुन्। यसैगरी कराँतेकै कुशल श्रेष्ठ एनओसी उत्कृष्ट पुरुष प्रशिक्षक र कबड्डीकी हरिना थापा एनओसी उत्कृष्ट महिला प्रशिक्षक चुनिए। एनओसी उत्कृष्ट युवा खेलाडी २०२६ बाट बक्सिङका नुर्बु थेन्डुप शेर्पा र टेनिसकी शिभाली गुरुङ पुरस्कृत भए। बक्सर नुर्बु एनओसी सर्वश्रेष्ठ युवा पुरुष खेलाडी र शिवाली एनओसी उत्कृष्ट महिला युवा खेलाडी घोषित भएका हुन्।

एनओसी उत्कृष्ट खेल पत्रकार प्रिन्टको अवार्ड खेलाडी डटकमका सम्पादक अजय फुयालले प्राप्त गरे। हाम्रो खेलकुदकी सम्बाददाता सरिता श्रेष्ठले एनओसी उत्कृष्ट अनलाइन खेल पत्रकारको अवार्ड प्राप्त गरिन्। एनओसी सर्वश्रेष्ठ क्यामरापर्सनबाट सुदर्शन रञ्जित पुरस्कृत भए। नेपाल कराँते महासंघ उत्कृष्ट संघ घोषित भयो। हरेक विधाका विजेता खेलाडीहरुले ५० हजार रुपियाँ, ट्रफीसहित कार्पेट पुरस्कारस्वरुप प्राप्त गरे। न्यु होराइन कार्पेट प्रा.लिले विजेताहरुलाई कार्पेट प्रायोजन गरेको हो।

यसैगरी एनओसी प्रेसिडेन्सिल अवार्डबाट अशोकरत्न वज्राचार्य, गीता राणा, चतुरानन्द राजवैद्य, नेपाल भूतपूर्व खेलाडी मञ्च, शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन, थन्डरबोल्ट स्पोर्ट्स एकेडेमी (जेम्स स्कुल), सुर्यलाल भण्डारी र लक्ष्मी श्रेष्ठ सम्मानित भए।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले विजेताहरुलाई बधाई दिँदै हरेक वर्ष जुन २३ को दिन ओलम्पिक दिवस मनाउने क्रममा एनओसीले अवार्ड कार्यक्रम गर्दै आएको बताए। यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले धन्यवाद ज्ञापन गरे भने अवार्ड कार्यक्रमका संयोजक तथा एनओसीका उपाध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको