काठमाडौं। फिफा विश्वकपको सेमिफाइनलमा आज राति आमनेसामने हुन लागेका स्पेन र फ्रान्सबीचको पछिल्लो पाँच भेटको नतिजा हेर्दा स्पेनको प्रदर्शन केही बलियो देखिएको छ।
पछिल्ला पाँच खेलमध्ये स्पेनले तीनमा जित निकालेको छ भने फ्रान्सले एक खेल आफ्नो पक्षमा पारेको छ। एक खेल भने बराबरीमा सकिएको थियो।
यी दुई टोलीबीचको सबैभन्दा पछिल्लो भेट सन् २०२५ जुन ५ मा युईएफए नेसन्स लिगको सेमिफाइनलमा भएको थियो। निकै रोमाञ्चक बनेको उक्त खेलमा स्पेनले फ्रान्सलाई ५–४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
त्यसअघि सन् २०२४ जुलाई ९ मा भएको युरोकप सेमिफाइनलमा पनि स्पेनले फ्रान्सलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो।
यद्यपि, सन् २०२१ अक्टोबर १० मा भएको युईएफए नेसन्स लिगको फाइनलमा फ्रान्सले स्पेनलाई २–१ ले पराजित गर्दै उपाधि जितेको थियो।
यसअघि सन् २०१३ मार्च २६ मा भएको फिफा विश्वकप २०१४ को युरोपेली छनोट प्रतियोगिताको खेलमा स्पेन १–० ले विजयी बनेको थियो। सोही छनोटअन्तर्गत सन् २०१२ अक्टोबर १६ मा भएको पहिलो भेट भने १–१ को बराबरीमा सकिएको थियो।
यसरी पछिल्ला पाँच भेटको तथ्याङ्कले स्पेनलाई सामान्य मनोवैज्ञानिक अग्रता दिएको देखिए पनि विश्वकपको सेमिफाइनल जस्तो ठूलो मञ्चमा विगतको नतिजाभन्दा वर्तमान प्रदर्शन नै निर्णायक बन्ने अपेक्षा गरिएको छ। दुवै टोली फाइनलमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रिनेछन्।
यस्तै अन्तर्राष्ट्रिय फुटबलमा फ्रान्स र स्पेनबीच अहिलेसम्म भएका ३८ खेलको हेड-टू-हेड तथ्यांक हेर्दा स्पेनको पल्ला भारी देखिन्छ। स्पेन १८ खेलमा विजयी भएको छ भने फ्रान्सले १३ खेल मात्र जितेको छ ७ खेल बराबरीमा सकिएका छन्।