काठमाडौं। नेपाल स्कुल स्पोर्ट्स फेडरेसन (एनएसएसएफ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)बीच संस्थागत विद्यालय खेलकुदको विकास र प्रवर्द्धनका लागि पाँच वर्षे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा एनएसएसएफका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ र हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्मा ले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा दुवै संस्थाका पदाधिकारी तथा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) का प्रतिनिधिको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार दुवै संस्थाले संयुक्त रूपमा क्षेत्रीय, प्रादेशिक र राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्नेछन्। साथै, यू–१९ बास्केटबल थ्री बाइ थ्री च्याम्पियनसिप, एनएसएसएफ–हिसान कप, एनएसएसएफ–हिसान कम्ब्याट गेम्स र स्कुल प्रिमियर लिग आयोजना गर्ने योजना अघि सारिएको छ।
यस सहकार्यअन्तर्गत खेल पूर्वाधारको विकास, विद्यालयहरूलाई आधुनिक खेल सामग्री उपलब्ध गराउने, खेल विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तथा नेपाली विद्यार्थी–खेलाडीलाई अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) का प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर उपलब्ध गराइने जनाइएको छ।
कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि दुवै संस्थाले संयुक्त अनुगमन समिति गठन गर्ने र संस्थागत प्रायोजन, निजी क्षेत्रको सहयोग तथा सरकारी अनुदान जुटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।