काठमाडौं। नेपाल यू–१९ महिला क्रिकेट टोलीले जापानलाई ९ विकेटले पराजित गर्दै एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
क्वाटरफाइनलमा जापानले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले ११.२ ओभरमै १ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि साबित्री धामी ३२ बलमा ७ चौकासहित अविजित ४१ रन बनाइन्। सोनी पाख्रिन २१ बलमा २ चौकासहित अविजित १८ रनमा रहिन्। सना प्रवीणले १७ बलमा ३ चौकासहित १८ रनको योगदान दिइन्। जापानका लागि ममता कसवानले एक विकेट लिइन्।
यसअघि पहिले ब्याटिङ गरेको जापान २० ओभरमा सबै विकेट गुमाउँदै ८६ रनमा समेटिएको थियो।
जापानका लागि बियान्का शिनोले सर्वाधिक अविजित ३८ रन बनाइन्। आयाने साकुराबा र किचो सुजुकीले समान १०–१० रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। जापानले अतिरिक्तबाट भने २७ रन प्राप्त गर्यो।
नेपालकी रिया शर्मा र कृष्मा गुरुङले समान २–२ विकेट लिए। अनु कडायत, मनिषा उपाध्याय र सोनी पाख्रिनले समान १–१ विकेट लिए भने तीन जापानी ब्याटर रनआउट भएका थिए।