काठमाडौँ। जापानको आइची नागोयामा हुने २०औँ एसियाली खेलकुद (एसियाड) २०२६ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले इ स्पोर्टस्लाई सहभागी नगराउने निर्णय गरेपछि नेपालका इ स्पोर्ट्स खेलाडीहरुले अदालतमा रिट दायर गरेका छन्।
नेपालका इ स्पोर्ट्स खेलाडीहरुले खेलकुद मन्त्रालय, राखेप, नेपाल ओलम्पिक कमिटी र नेपाल इ स्पोर्ट्स संघ (नेसा)लाई प्रतिपक्षी बनाएर उच्च अदालत, काठमाडौँमा रिट दायर गरेका हुन्। उनीहरुले इ स्पोर्ट्स खेलाडीहरुलाई दर्ता प्रक्रियामा सामेल नगरेपछि मुद्दा हालेका हुन्।
नेसामार्फत् हालै मात्र नेपाली खेलाडीहरु छनोट चरण पार गरेर २०औँ एसियाडको इस्पोटर्समा खेल्न योग्य भएका थिए। नेपाली खेलाडीहरुले अनर अफ किङ्सको छनोट मलेसियाको क्वालालम्पुर, पब्जी मोबाइलको भियतनामको हो ची मिन्ह सिटी र मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङको छनोट सिङगापुरमा एसियाडको छनोट प्रतियोगिता खेलेका थिए। यसअघि नेपालमा एईएसएफबाट मान्यता प्राप्त नेपाल इस्पोट्र्स संघले ‘छैटौँ नेपाल इस्पोट्र्स च्याम्पियनसिप एन्ड एक्स्पो २०२६–रोड टु द एसियन गेम्स’ आयोजना गर्दै राष्ट्रिय छनोट सम्पन्न गरेको थियो। सो छनोटमा सफल एसियाली खेलकुदका लागि छनोट प्रतियोगिता खेलेका हुन्।
राखेपले आगामी एसियाडमा नेपालले इस्पोर्ट्ससहित २३ खेलमा सहभागिता जनाउने जानकारी दिएको थियो। यद्यपि अहिले इस्पोर्ट्सका खेलाडीहरु आफूलाई दर्ता प्रक्रियामा सामेल नगरेको भन्दै मुद्दामा गएका हुन्। राखेपले एनओसीलाई इस्पोर्ट्स एसियाडमा सहभागी नहुने भन्दै खेलाडी दर्ता रोकेपछि यस खेलका खेलाडीहरू न्यायका लागि अदालतमा पुगेका हुन्।