काठमाडाैं। नेपालका सविनकुमार दियालीले एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा कुवेतका खेलाडीलाई पराजित गरेका छन्।
जोर्डनको अम्मानमा भएको प्रतियोगिताको जुनियर पुरुष ६० केजीमुनि सविनले कुवेतका अल्रामजी हसनलाई इप्पोनका आधारमा पराजित गरेको टिम व्यवस्थापक नेपाल जुडो संघका महासचिव नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डेले जनाएका छन्। जितसँगै सविन प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए।
प्रिक्वाटरफाइनलमा भने सविन विश्व वरीयतामा ४०औं स्थानका काजाकिस्तानका तुर्सिनाली अलिशेरसँग चुके। सविना बन्दी सहायता नियोग (पाम) का खेलाडी हुन्। पाममा जुडो खेलाडीलाई सूर्यनारायण श्रेष्ठले प्रशिक्षण दिदै आएका छन्।
त्यसैगरी जुनियर पुरुष ६६ केजीमुनि पहिलो चरणमा बाइ पाउदै दोश्रो चरणमा पुगेका विशेष विक विश्व वरीयतामा २४औं स्थानमा रहेका ताजकिस्तानका खेलाडीसंग खान्सेत्सु वाजामा पराजित भए। प्रशिक्षकमा कविराम घर्ती मगर रहेका छन्।
जुडो युनियन अफ एसिया (जेयुए) को आयोजना तथा जोर्डन जुडो महासंघको संयोजनमा भएको प्रतियोगितामा विभिन्न २० राष्ट्रका १ सय ७३ खेलाडी सहभागी थिए।