टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं। सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्।

इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहको आयोजनामा भएको इटीटी टेबलटेनिसको टिम इभेन्टका स्वर्ण विजेता महेश श्रेष्ठ, दिक्षा दाहाल र रनोज थकु तथा ४२औं राष्ट्रिय टेबलटेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्यान्ड प्रस्थान गरेका हुन्।

इटीटीले इटिटी टेबलटेनिसका स्वर्ण विजेता टोलीका सदस्य र ४२औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण र रजत विजेतालाई पाँचदिने बैंकक भ्रमणको ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको थियो। सोही घोषणा अनुसार खेलाडीलाई ‘प्याकेज’ प्रदान गरिएको हो। ४२औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण विजेता संयोग कपाली भने २०औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि दक्षिण कोरियाको सिओलमा रहेकाले एलेक्स मात्र बैंकक गएका हुन्।

खेलाडीलाई इटिटीका अध्यक्ष सुमन खड्गी, इटीटी टेबलटेनिसको छैटौं संस्करणका विजेता राजेन्द्र वज्राचार्य, अनिता महर्जन, मुकेश महर्जनलगायतले सोमबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।

अध्यक्ष खड्गीले खेलाडीलाई छुट्टै वातावरणमा आराम गर्न यो अवसर फलदायी हुने विश्वास व्यक्त गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको