साफ च्याम्पियनसिप नोभेम्बर ४ देखि बंगलादेशमा

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ च्याम्पियनसिप २०२६ को मिति र आयोजक राष्ट्रको औपचारिक घोषणा गरेको छ। दक्षिण एसियाको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता नोभेम्बर ४ देखि १७ तारिखसम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुनेछ।

साफका सबै सदस्य राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको तयारीस्वरूप जुलाई २५ मा ढाकामा आधिकारिक लोगो सार्वजनिक गरिने छ। त्यसपछि अगस्ट १ मा भुटानको थिम्पुमा ड्र सार्वजनिक कार्यक्रम आयोजना हुने तय भएको छ।

साफका महासचिव पुरुषोत्तम कट्टेलले प्रतियोगिताको मिति र आयोजक घोषणा गर्न पाउँदा निकै उत्साहित भएको बताए। साफ च्याम्पियनसिप हाम्रो लागि विशेष प्रतियोगिता हो। यसले वर्षौंदेखि दक्षिण एसियाका फुटबल समर्थकलाई अविस्मरणीय क्षण प्रदान गर्दै आएको छ,’ उनले भने, ‘फिफा विश्वकप २०२६ सम्पन्न भएको केही समयमै यो घोषणा हुनुले दक्षिण एसियाली फुटबल समर्थकमाझ थप उत्साह थप्ने विश्वास गरेका छौं।’

उनले बंगलादेशमा पछिल्लो समय फुटबलप्रतिको बढ्दो आकर्षणका कारण त्यहाँ प्रतियोगिता आयोजना हुनु थप उत्साहजनक रहेको उल्लेख गरे।

‘बंगलादेशले उत्कृष्ट र स्मरणीय प्रतियोगिता आयोजना गर्नेमा हामी विश्वस्त छौं। आगामी केही सातादेखि प्रतियोगितासँग सम्बन्धित विभिन्न गतिविधि, जानकारी र कार्यक्रम सार्वजनिक गर्दै जानेछौं। अर्को अविस्मरणीय संस्करणको काउन्टडाउनमा समर्थकहरू पनि हामीसँगै उत्साहित हुने विश्वास लिएका छौं,’ कट्टेलले भने।

सन् २०२६ को साफ च्याम्पियनसिप १५औँ संस्करण हुनेछ। साथै, प्रतियोगिता सन् २०१८ पछि पहिलो पटक बंगलादेशमा आयोजना हुन लागेको हो, जसले यस संस्करणप्रतिको प्रतीक्षालाई अझ बढाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको