काठमाडौं। काभा मेन्स भलिबल च्याम्पियनसिपको पहिलो खेलमा काजाकिस्तानसँग पाँचौँ सेटसम्म संघर्ष गरे पनि नेपालले विश्व वरीयतामा उल्लेखनीय सुधार गरेको छ। नयाँ विश्व वरीयता अनुसार नेपाल १४० स्थान सुधार गर्दै ८३औँ स्थानमा उक्लिएको छ।
पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताको पहिलाे खेलमा नेपाल काजाकिस्तानसँग ३–२ को सेटमा पराजित भयो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले सुरुआतका दुई सेट गुमाएपछि उत्कृष्ट पुनरागमन गर्दै खेललाई निर्णायक पाँचौँ सेटसम्म पुर्याएको थियो।
पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२१ ले गुमाएको नेपालले तेस्रो सेट रोमाञ्चक रूपमा ३४–३२ ले आफ्नो पक्षमा पार्यो। त्यसपछि चौथो सेट २५–१८ ले जित्दै नेपालले खेल २–२ को बराबरीमा ल्याएको थियो।
तर निर्णायक पाँचौँ सेटमा काजाकिस्तानले १५–९ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो। हार बेहोरे पनि नेपालले बलियो प्रदर्शन गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ।
यस प्रतिस्पर्धात्मक प्रदर्शनसँगै नेपालको विश्व वरीयतामा ठूलो सुधार भएको हो। नयाँ वरीयता अनुसार नेपाल १४० स्थान उक्लिँदै ८३औँ स्थानमा पुगेको छ, जुन नेपाली पुरुष भलिबलका लागि ऐतिहासिक उपलब्धिमध्ये एक मानिएको छ।