कबड्डी टोली भारतको हरियाणा जाने

काठमाडौं। जापानमा हुने २०औं एसियाली खेलकुद को तयारीका लागि नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ।

प्रशिक्षणमा सहभागी हुने खेलाडीमा घनश्याम रोका मगर, अंकु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन्। घनश्याम, अंकु, रवि र करुण भने हाल भारतमै प्रशिक्षणरत छन्। घनश्याम हरियाणामा रहेका छन् भने बाँकी तीन खेलाडी हिमाचल प्रदेशमा छन्। उनीहरू त्यहीँबाट टोलीमा समावेश हुनेछन्।

टोलीका मुख्य प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक कल्याण भुजेल र व्यवस्थापक पर्शुराम ओली रहेका छन्। व्यवस्थापक ओली भने केही दिनपछि टोलीसँग जोडिनेछन्।

नेपाली टोलीले हरियाणास्थित सन्दीप नरवाल एकेडेमी मा एक महिना प्रशिक्षण गर्नेछ। त्यसपछि टोली प्रशिक्षणकै लागि थाइल्यान्ड जाने सम्भावना रहेको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा ले जानकारी दिए।

महासचिव झाले भने, “यदि चाइनिज ताइपेइ पनि थाइल्यान्ड आयो भने मात्र हाम्रो टोली थाइल्यान्ड जान्छ। त्यहाँ हामीसहित तीन राष्ट्रबीच अभ्यास खेल हुनेछ। चाइनिज ताइपेइ थाइल्यान्ड नगएमा हामी भारतकै जयपुर र उत्तर प्रदेशमा प्रशिक्षणलाई निरन्तरता दिनेछौं। साथै, भारतका विभिन्न स्थानीय टोलीसँग अभ्यास खेल पनि खेल्नेछौं।”

टोली प्रशिक्षणस्थलबाटै असोज ३ देखि १८ गतेसम्म जापानमा हुने २०औं एसियाली खेलकुद मा सहभागी हुन प्रस्थान गर्नेछ। नेपाली पुरुष कबड्डी टोलीको यो एसियाली खेलकुदमा पाँचौं सहभागिता हुनेछ। यसअघि टोलीले १९९० (चीन), १९९४ (जापान), १९९८ (थाइल्यान्ड) र २०१८ (इन्डोनेसिया) मा आयोजित एसियाली खेलकुदमा सहभागिता जनाएको थियो।

नेपाली महिला कबड्डी टोलीले पनि २०औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्नेछ। महिला टोलीको यो दोस्रो सहभागिता हुनेछ। यसअघि चीनको हाङझाउमा आयोजित १९औं एसियाली खेलकुद मा पहिलोपटक सहभागी हुँदै नेपालले ऐतिहासिक कांस्य पदक जितेको थियो।

टोलीलाई बुधबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् का उपाध्यक्ष विशाल श्रेष्ठ र अखिल नेपाल कबड्डी संघ की अध्यक्ष तुलसी थापा ले बिदाइ गरे। कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले खेलाडीलाई उत्कृष्ट तयारी गर्न आग्रह गर्दै एसियाली खेलकुदमा उत्कृष्ट नतिजाका लागि शुभकामना व्यक्त गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको