काठमाडौ। प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप हुने भएको छ।
एनआरटीको आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित क्लबकै भवनमा साउन १३ देखि २३ गतेसम्म हुनेछ। नेपालकै पुरानो क्लबमध्येको एक एनआरटी चर्चित ए डिभिजन फुटबल क्लब पनि हो। काठमाडौँ खेलमण्डल (एनआरटी) वि.सं. १९९१ मा स्थापना भएको क्लब हो।
प्रतियोगिताको विजेतालाई एक लाख ११ हजार १११ रुपियाँसहित च्याम्पियन ट्रफी, उपविजेतालाई ५१ हजार रुपियाँसहित ट्रफी तथा सेमीफाइनलिस्टद्वयलाई जनही २५ हजार रुपियाँसहित ट्रफी प्रदान गरिनेछ। यसैगरी सेन्चुरी ब्रेक गर्नेलाई २५ हजार दामाशाही र ८० अङकभन्दा बढी हाइएस्ट ब्रेक गर्नेलाई २० हजार रुपियाँ दामाशाही र ट्रफी पुरस्कारस्वरुप दिइनेछ।
एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले ९२ वर्षभन्दा लामो गौरवशाली इतिहास बोकेको यस क्लबले फुटबल र क्रिकेटमा नाम कमाएपनि बिलियार्ड्स, स्नूकर, टेबलटेनिस, हक्कीलगायतका खेल पनि लगातार आयोजना गरेर सबै खेलको बिस्तार र विकासमा योगदान पुर्याउँदै आएको बताए। उनले चाँडै नै क्रिकेट प्रतियोगिताको आयोजना गर्ने योजना रहेको पनि सुनाए।
नेपाल बिलियार्ड स्नुकर र पुल संघका अध्यक्ष सरोज मुल्मीले स्नुकरलाई माथि लान लगातार प्रयास गरिरहेको र विभिन्न कार्यक्रमको रुपरेखा तयार पनि गरिररहेको छु, भन्नुभयो । यसैगरी एनआरटीका महासचिव सतिसकृष्ण श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन र खेल संस्कृतिको विकासमा यस क्लबले निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए।
यस प्रतियोगिताका संयोजक तथा एनआरटीका केन्द्रीय सदस्य राजेन्द्र शाक्यले यस प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीका साथै आयोजकका एक खेलाडीको पनि सहभागिता रहने जानकारी दिए। प्रतियोगितामा १६ जनालाई चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई खेलाडी नकआउट चरणमा प्रवेश गर्ने प्रावधान रहेको छ। यस प्रतियोगिताका खेलहरूको प्रत्यक्ष प्रसारण एन.आर.टी.को आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट हुनेछ।