महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

काठमाडौं। नेपाली महिला कबड्डी टोलीले पनि २० औं एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरुष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ।

बिहीबार प्रस्थान गर्ने टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना प्रशिक्षण गर्ने छ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने छ। असोज २ गते टोली भारतबाटै एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ। एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुनेछ।

महिला टोलीमा मानमती विष्ट (कप्तान), जयन्ती बडु, रविना चौधरी, मेनुका राजवंशी, मिना नेपाली, खिममाया खत्री, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री र आस्मा यादव रहेका छन्। खिममायाको भने २० औं एसियाड ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।

टोलीकी अर्की सदस्य अनुजा कुलुङ राई भने प्राविधिक कारण (मेडिकल) २० औं एसियाडमा सहभागी नहुने भएकी छन्। उनको स्थानमा कुन खेलाडीलाई राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्ने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन्।

मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनधारी रहेका छन्। महिला कबड्डीमा ८ राष्ट्रको सहभागिता रहने छ। समूह ‘बी’ मा रहेको नेपालले श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईंसंग खेल्ने छ। ताइपेईं गत संस्करणको उपविजेता हो। फाइनलमा ताइपेईं भारतसंग समग्रमा १ अंकको अन्तरले पराजित भएको थियो। समूह ‘ए’ मा इरान, जापान, बंगलादेश र भारत छन्।

एसियाली खेलकुदमा महिला टोलीको दोश्रो सहभागिता हो। महिला टोलीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाएको थियो। त्यसबेला टोलीले ऐतिहासिक कांस्य पदक जितेको थियो।

हाङझाव एसियाडमा पदक जितेका मध्ये ६ खेलाडी अहिलेको टोलीमा छन्। मानमति, जयन्ती, रविना, मेनुका, गंगा र सिर्जन पदक जितेका टोलीका सदस्य हुन्। हाङझाव एसियाडमा पनि पार्वती नै मुख्य प्रशिक्षकको जिम्मेवराीमा थिइन्।

महिला कबड्डी टोलीले इरानमा भएको एसियाली कबड्डी प्रतियोगिता तथा चीनमा भएको एसियाली बिच खेलकुदमा कांस्य जितेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, कबड्डी संघकी अध्यक्ष तुलसी थापा, महासचिव झा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे। सदस्य–सचिव मेहताले टोलीबाट पदकको धेरै आशा गरेको बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको