काठमाडाैं। निम्सले प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ। दोहोरो जित निकालेको निम्सले गल्र्स/ब्वाइज दुवैमा सफलता पायो।
टोखाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भएको गल्र्सको खेलमा निम्सले गोल्डेनगेटलाई २६–१४ ले पराजित ग¥यो। निम्सको जितमा सरिना सुनुवारले १४ अंक योगदान गरिन्। ब्वाइजमा पीताम्बर मगरको १३ अंक सहयोगमा निम्सले नवोदितलाई ४३–३२ ले हरायो।
ब्वाइजको अन्य खेलमा ग्रिनफिल्ड, सीसीआरसी र लालीगुराँस नेसनल एकेडेमीले सफलता हात पारे। ग्रिनफिल्डले न्युटनलाई ४९–४० ले पाखा लगायो। ग्रिनफिल्डका जेनिश अधिकारीले १५ स्कोर गरे।
सीसीआरसीले हेराल्ड इन्टरनेसनल कलेजलाई ४२–३७ ले पन्छायो। सीसीआरसीका कर्मा बोम्जनले ८ अंक जोडे। सगरमाथा विरुद्ध खेलमा लालीगुराँस ५६–३४ ले विजयी भयो । लालीगुराँसका प्रवीण गुरुङले १३ अंक बटुले।
प्रतियोगिताको केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ र आयोजक एकेडेमीका अध्यक्ष बद्री महतले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे। साउन २२ गतेसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा ७ टिम सहभागी छन्।