काठमाडौं। अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को कार्यकारी सदस्यमा दोस्रोपटक निर्वाचित भएका नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीलाई एकैपटक पाँच संस्थाले सम्मान तथा बधाई दिएका छन्।
काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै त्रिवि खेलकुद विज्ञान स्नातकोत्तर, प्याब्सन, हिसान, एनप्याब्सन र अपेनले आइएसएसएफको कार्यकारी सदस्यमा निर्वाचित कार्कीलाई बधाई तथा सम्मान गरेको हो । साथै विभिन्न खेलकुद संघहरूले पनि उनलाई बधाई दिएका छन् ।
सोही अवसरमा बहराइनमा सम्पन्न आईएसएफ जिम्नासियाडमा पदक जित्ने नेपाली खेलाडी तथा प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो। बक्सिङतर्फ नोर्बु थेन्डुप शेर्पा र स्वस्तिका तिरुवा स्वर्ण पदक विजेता बनेका थिए भने रोहित जनाला र सूर्यन वैद्यले कांस्य पदक जितेका थिए।
यस्तै, तेक्वान्दोतर्फ उज्ज्वल वाग्लेले स्वर्ण तथा निविता केसीले कांस्य पदक जितेकी थिइन्। बक्सिङ प्रशिक्षक दिपक महर्जनलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
सम्मान कार्यक्रममा नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठसहित विभिन्न शैक्षिक तथा खेलकुद संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।