खेलकुद इतिहास समेट्ने देशकै पहिलो प्रदर्शनी सुरु

काठमाडौं। नेपाली खेलकुद इतिहास संरक्षण, अभिलेखीकरण र प्रवद्र्धन गर्ने उद्देश्यसहिते देशकै पहिलो खेलकुदसम्बन्धी प्रदर्शनी मंगलदेखि सुरु भएको छ।

नेपाल ओलम्पिक संग्रहालयलको आयोजनामा बबरमहलमा रहेको नेपाल कला परिषद्मा आजदेखि तीन दिन प्रदर्शनी सुरु भएको हो। संग्रहालयको ३३औँ वार्षिकोत्सवका अवसरमा ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ शीर्षकमा सुरु भएको प्रदर्शनीको उद्घाटन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रदर्शनीले खेलिसकेका खेलाडीको सम्मान झन्काउने बताए। उनले खेल तथा खेलाडीसँग सम्बन्धित तस्बिर, ट्रफी, पदक, जर्सीलगायत ऐतिहासिक सामग्रीको अभिलेखीकरणले नयाँ खेलाडीलाई राम्रो खल्नका लागि प्रेरणा मिल्ने उल्लेख गरे।

नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष सन्सी श्रेष्ठले बाबुले खेलाडी र संघसंस्थाहरुबाट संकलन गरी ल्याएका तस्बिर, ट्रफी, पदकलाई नेपालमै पहिलो पटक प्रदर्शनी गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन्।

दक्षिण एशियामै एक मात्रै खेलकुद संग्रहालयका रूपमा रहेको संस्थालाई बाबु र आमाले गरेको प्रयासलाई अब आफूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन काम गर्ने श्रेष्ठले उद्घोष गरिन्।

नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एसियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा स्थापित नेपाल ओलम्पिक संग्रहालयले खेल तथा खेलाडीसँग सम्बन्धित तस्बिर, ट्रफी, पदक, जर्सीलगायत ऐतिहासिक सामग्रीको अभिलेखीकरण, संरक्षण र प्रवद्र्धन गर्दै आएको छ।

आयोजकका अनुसार तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा संग्रहालयमा सुरक्षित झन्डै पाँच लाख दुर्लभ तथा ऐतिहासिक खेलकुद तस्बिरमध्ये छनोट गरिएका तस्बिर प्रदर्शन गरिँदैछन्। त्यसका साथै विभिन्न पदक, ट्रफी, खेल सामग्री तथा ऐतिहासिक खेलकुद स्मृतिचिन्ह पनि प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेल प्रशासक र खेलप्रेमीको सहभागिता रहने अपेक्षा गरिएको संग्रहालयका कोषाध्यक्ष रन्जन नगरकोटीले बताए। विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारणले पनि नेपालको खेलकुद इतिहासलाई नजिकबाट अवलोकन गर्ने अवसर पाउने आयोजकको भनाइ छ।

संग्रहालयले दिवंगत संस्थापक वरिष्ठ खेलकुद पत्रकार क्षितिज अरुण श्रेष्ठ तथा दक्षिण एसियाली खेलकुद (साग) तेक्वान्दो पदक विजेता मञ्जु तुलाधरको योगदानप्रति सम्मान व्यक्त गर्दै प्रदर्शनीमार्फत नेपालको खेलकुद इतिहास भावी पुस्तासम्म पुर्‍याउने लक्ष्य राखिएको जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको