काठमाडौं। भुटानी राष्ट्रिय महिला लिग ‘टियर–१’ मा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बू सम्मिलित पारो एफसीले फराकिलो जित दर्ता गरेको छ। पारोले गेलेफु गर्ल्स युनाइटेड (यु–२०)लाई ७–१ गोलले पराजित गरेको हो।
खेलमा गेलेफुका लागि साङ्गे वाङ्मोले २१औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। १–० ले पछि परेको पारोले उत्कृष्ट पुनरागमन गर्दै फराकिलो जित निकालेको हो।
उडाय कोल्लीले ४१औँ मिनेटमा गोल गर्दै पारोलाई १–१ को बराबरीमा ल्याइन्। दोस्रो हाफमा रेनुका नगरकोटेले ६२औँ मिनेटमा गोल गर्दै पारोलाई अग्रता दिलाइन्।
त्यसपछि क्याडी जालोले ७७औँ र ८७औँ मिनेटमा लगातार दुई गोल गर्दै पारोको अग्रता फराकिलो बनाइन्। केलजाङ टी वाङ्मोले ८२औँ मिनेटमा गोल गरिन् भने कोल्लीले ७९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल पूरा गरिन्। सरु लिम्बूले इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गर्दै पारोको ७–१ को जित सुनिश्चित गरिन्।
यो जितसँगै पारोले लगातार दोस्रो जित दर्ता गरेको छ। दुई खेलबाट ६ अंक जोडेको पारो शीर्ष स्थानमा रहेको छ।