समावेशी कोचिङ प्रशिक्षण सम्पन्न, ह्वीलचेयर बास्केटबलमा दक्ष प्रशिक्षक उत्पादन गर्ने लक्ष्य

काठमाडौं। ह्वीलचेयर बास्केटबल तथा अन्य अपाङ्गता खेलकुदमा समावेशी कोचिङसम्बन्धी प्रशिक्षकको ज्ञान, सीप र व्यावहारिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने प्रशिक्षण सम्पन्न भएको छ।

नेपाल स्पाइनल कर्ड इन्जरी स्पोर्ट्स एसोसिएसनको आयोजनामा तथा युरोपेली युनियनको सहयोगमा सञ्चालित ‘मेनस्ट्रिमिङ इन्क्लुसिभ स्पोर्ट्स इन नेपाल’ अन्तर्गत ‘ट्रेनिङ कोचेस इन इन्क्लुसिभ कोचिङ’ प्रशिक्षण सञ्चालन गरिएको हो।

गत शनिबारदेखि सुरु भएको प्रशिक्षण सोमबार काठमाडौंको ज्ञानेश्वरस्थित होटल एटिक एम्पायर तथा ग्यालेक्सी पब्लिक स्कुलमा सम्पन्न भएको हो। प्रशिक्षणमा सातै प्रदेशबाट एक एक जनासहित १५ जना प्रशिक्षकको सहभागिता रहेको थियो।

प्रशिक्षणको मुख्य उद्देश्य प्रशिक्षकलाई ह्वीलचेयर बास्केटबललगायत अपाङ्गता खेलकुदमा प्रभावकारी र समावेशी रूपमा प्रशिक्षण सञ्चालन गर्न सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ। साथै, अपाङ्गता भएका खेलाडीको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै सुरक्षित, पहुँचयोग्य र समावेशी खेल वातावरण निर्माण गर्न सक्षम प्रशिक्षक तयार गर्ने लक्ष्य राखिएको थियो।

प्रशिक्षण प्रेमसुन्दर होना र उनको टोलीले सञ्चालन गरेको थियो। प्रशिक्षणका क्रममा ह्वीलचेयर बास्केटबलको कोचिङ प्रविधि, खेलाडीको आवश्यकता पहिचान तथा समावेशी प्रशिक्षण पद्धतिसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

समापन कार्यक्रममा नेपाल स्पाइनल कर्ड इन्जरी स्पोर्ट्स एसोसिएसनकी अध्यक्ष देवी आचार्य, संघका उपाध्यक्ष सुपर राई र कोषाध्यक्ष बिरु ढुंगानालगायतको उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले यस्ता प्रशिक्षणले अपाङ्गता भएका खेलाडीलाई समेत खेलकुदको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले प्रशिक्षकको क्षमता अभिवृद्धिसँगै देशका विभिन्न प्रदेशमा सक्षम खेलाडी उत्पादन गर्न र अपाङ्गता खेलकुदको स्तर वृद्धि गर्न प्रशिक्षणले योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको