युरोपमा नेपाली टी–१० क्रिकेट : विजेताले ५ हजार ५ सय ५५ युरो पुरस्कार पाउने

काठमाडाैं। पोर्चुगलमा पहिलोपटक आयोजना हुन लागेको युरोपस्तरीय नेपाली टी–१० क्रिकेट प्रतियोगितामा विजेताले ५ हजार ५ सय ५५ युरो पुरस्कार पाउने भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर १४ देखि १६ सम्म हुने प्रतियोगितामा उपविजेताले पनि २ हजार ५ सय ५५ युरो प्राप्त गर्नेछ।

आयोजकका अनुसार विजेताले पाउने ५ हजार ५ सय ५५ युरो नेपाली रुपैयाँमा करिब ९ लाख ६५ हजार बराबर हो। त्यस्तै उपविजेताले पाउने २ हजार ५ सय ५५ युरो करिब ४ लाख ४५ हजार रुपैयाँ बराबर हुनेछ।

आयोजकले यो पुरस्कार राशि युरोपमा आयोजना हुँदै आएका नेपाली खेलकुद प्रतियोगितामध्ये अहिलेसम्मकै ठूलो भएको दाबी गरेको छ। प्रतियोगिताको पुरस्कारसँगै युरोपमा रहेका नेपाली क्रिकेट खेलाडीलाई आकर्षित गर्ने र प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगिताको ब्रान्ड एम्बासडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी विनोद भण्डारी रहेका छन्। प्रतियोगिताको प्रचारप्रसार तथा आवश्यक समन्वयका लागि भण्डारी लिस्बन पुगिसकेका छन्।

नेपाली क्रिकेटमा लामो समय राष्ट्रिय टोलीबाट खेलेका भण्डारीको उपस्थितिले प्रतियोगिताको आकर्षण थप बढाउने आयोजकको अपेक्षा छ। उनको उपस्थितिलाई युरोपमा रहेका नेपाली क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमीलाई प्रतियोगितासँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ।

पोर्चुगलमा नेपाली समुदायको संख्या बढ्दै जाँदा नेपाली युवामाझ क्रिकेटको लोकप्रियता पनि बढिरहेको भन्दै एनआरएनए पोर्चुगलले युरोपमा रहेका नेपाली क्रिकेट प्रतिभालाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

प्रतियोगितामार्फत पोर्चुगलसहित युरोपका विभिन्न देशमा रहेका नेपाली क्रिकेट खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने, नयाँ प्रतिभाको पहिचान गर्ने र नेपाली क्रिकेटको विकास तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने आयोजकको लक्ष्य छ।

आयोजकका अनुसार प्रतियोगिता क्रिकेटको प्रतिस्पर्धामा मात्र सीमित रहने छैन। युरोपमा रहेका नेपाली युवालाई खेलकुदमार्फत एकताबद्ध गर्दै आपसी भाइचारा, मित्रता र सहकार्य बढाउने तथा नेपाली समुदायमा सकारात्मक खेल संस्कृतिको विकास गर्ने उद्देश्य पनि प्रतियोगिताले बोकेको छ।

प्रतियोगिताका लागि सहभागी टोली, खेल सञ्चालनको प्रारूप, खेल तालिका तथा व्यवस्थापनलगायतका तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ। प्रतियोगिताका खेल अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्ने तयारी गरिएको छ।

एनआरएनए पोर्चुगलका संयोजक विवेक श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन नेपाली सञ्चारमाध्यम, खेलाडी, टोली, प्रायोजक तथा सम्पूर्ण नेपाली समुदायको सहयोग आवश्यक रहेको बताएका छन्।

प्रतियोगिताका आयोजकले युरोपमा नेपाली क्रिकेटको विकासका लागि यो प्रतियोगिता महत्वपूर्ण सुरुवात हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसको दायरा अझ विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको